साहित्यकार डा. अजय क्रान्ति शाक्यको नेपालभाषा शायरी संग्रह प्रकाशोन्मुख
काठमाडौं, २३ जेठ । साहित्यकार डा. अजय क्रान्ति शाक्यको नेपालभाषा शायरी संग्रह प्रकाशनको तयारी भएको छ । ‘जि मैन थें नायाच्वना’ शीर्षक रहेको उक्त शायरी संग्रहमा अंग्रेजी अनुवाद पनि समावेश गरिएको छ ।
योभन्दा अघि उहाँको ‘म मैन झैं पग्लिरहेँ’ शीर्षकमा नेपाली शायरी संग्रह प्रकाशित भएको थियो । नेपाली काव्य पारखीहरूका बीच लोकप्रिय रहेको सोही संग्रहका शायरीहरूलाई अब नेपालभाषामा पनि अनुवाद गरी प्रकाशन गरिएको हो । उक्त संग्रहमा पनि अंग्रेजी अनुवाद समावेश गरिएको छ ।
अंग्रेजी अनुवाद समेत भएका कारण नेपालभाषा र अंग्रेजी द्विभाषिक पाठकका लागि यो संग्रह रुचिकर हुने विश्वास गरिएको छ । साथै नेपालभाषा काव्यलाई यसले अन्तर्राष्ट्रिय बजारमा पनि पु¥याउने अपेक्षा गरिएको छ ।
छिट्टै एक सांगीतिक–साहित्यिक कार्यक्रम बीच यो संग्रह विमोचनको तयारी रहेको कुरा प्रकाशक नेपालमण्डल लिट्रचर कल्चर ट्रष्टले बताएको छ ।
बागमती प्रदेशका पूर्व मन्त्री एवं हाल नेकपा (एमाले) का केन्द्रीय सदस्य समेत रहनुभएका लेखक डा. शाक्य नेपालभाषा सांगीतिक क्षेत्रका एक कुशल संगीतकार पनि हुनुहुन्छ । उहाँद्वारा संगीतवद्ध थुप्रै गीतहरू प्रेमध्वज प्रधान, भीम तुलाधर, जुनु श्रेष्ठ आदि लोकप्रिय गायकहरूको स्वरमा रेकर्ड गरिएका छन् ।
उहाँद्वारा स्वरवद्ध उहाँका शायरीहरू हाल युट्यूब च्यानलमा पनि उपलब्ध छन् ।