आदिकवि भानुभक्तको जन्मजयन्ती तीन दिन मनाइने
काठमाडाैं, २२ असार । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरी मनाइने भएको छ ।
आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा दीपावली, खुला कविता प्रतियोगिता र रामायण वाचन प्रतियोगिता गरिने आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकायरी निर्देशक शङ्कर रानाभाटले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपाली साहित्यको प्रवद्र्धन गर्ने उद्देश्यले उक्त प्रतियोगितामा देशभरका साहित्यकारलाई निम्तो गरिएको बताउनुभयो ।
खुला कविता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु १० हजार, रु सात हजार र रु पाँच हजार पुरस्कार प्रदान गरिनेछ । यस्तै रामायण वाचनतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु पाँच हजार, रु तीन हजार र रु एक हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागिताका लागि इमेलबाट पनि कविता पठाउन सकिने व्यवस्था गरिएको छ । www.adikabibhanubhakta1871@gmail.com मा पठाउन सकिने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा साहित्यिक क्षेत्रका विभिन्न व्यक्तिलाई सम्मान समेत गरिने छ । जन्मजयन्तीको कार्यक्रममा बालन, कुमालका पाउदुरे र मगरका कौराह नृत्य प्रदर्शन गरिने अध्यक्ष ऋषिराम पन्तले जानकारी दिनुभयो ।
भानुभक्तकै जन्मस्थलमा छायाङ्कन गरिएको गीत यही असार २९ गते २१०औँ भानु जन्मजयन्तीका अवसरमा सार्वजनिक गरिनेछ ।