अर्थमन्त्री महतको राजीनामा माग्दै माइतीघरमा निर्माण व्यवसायीको आन्दोलन

काठमाडाैं, २९ असार । विनाबजेटको आयोजना टेण्डर गरेर सरकारले भुक्तानी नगरेकाे भन्दै निर्माण व्यवसायीहरूले सरकारविरुद्ध आन्दोलन थालेका छन् ।

सरकारले विनाबजेटको टेण्डर आयोजना गरेर असार मसान्तमा पनि रकम भुक्तानी नगरेपछि ठेकेदारहरूले अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग्दै माइतीघरमा आन्दोलनमा निस्किएका हुन् ।

उनीहरूले सरकारविरुद्ध बिहानै माइतीघरमा धर्नामा दिएका छन् । सरकारले भुक्तानीका लागि पहल नगरेकाे भन्दै आफूहरू सडकमा आउन बाध्य भएकाे निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । उनले भने, व्यवसायीले गरेको कामको भुक्तानीका लागि अनुनय गर्दा अर्थमन्त्रीले आफ्नाे घरको अंश दिनुपर्ने झैं गरे ।

सरकारले रकम नभएको ४ खर्बको आयोजना टेण्डर गराएर उधाराेमा व्यवसायीलाई काम गराएर रकम निकासा नगरिदिएकाे आराेप छ । उनले भने, बैंक, सप्लायर्स, कामदार जताततै उधारो बाँकी राखेर काम गरेका छाैं । सरकारले प्रक्रिया पुर्‍याएर बिल पेस गर्दा पनि भुक्तानी रोकेकोले आत्मदाह गर्नुपर्ने अवस्था आइलागेको छ ।