योगेश भट्टराईको कर्णाली अनुभवः पोलपोटको शासनदेखि फेरिएको कर्णालीसम्म
काठमाडौं, १५ साउन । नेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा बसेको सचिवालयको पन्ध्रौं बैठकले पार्टीको वैचारिक तथा सांगठानिक सुदृढीकरणका लागि गत फागुन १ गतेदेखि दुई महिने ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
‘मिसन ग्रासरुट’ अभियानमा नेकपा (एमाले)ले पार्टीका पदाधिकारीसहितका नेताहरुलाई विभिन्न भूगोलको जिम्मेवारी दिएको थियो । त्यतिबेला सचिव योगेश भट्टराईलाई कर्णाली प्रदेशको अनुगमनको जिम्मेवारी तोकिएको थियो । दुई महिनाको ‘मिसन ग्रासरुट’ अभियानका सिलसिलामा भट्टराईले धेरै समय कर्णालीमै विताउनुभयो । अहिले उहाँको जिम्मेवारी फेरिएको छ । गत जेठ १९ बाट उहाँ नेकपा (एमाले) मधेश प्रदेश इन्चार्जको जिम्मामा हुनुहुन्छ ।
जिम्मेवारी प्राप्त गरेको १२ दिनपछि अर्थात् जेठ ३२ गते प्राप्त नयाँ जिम्मेवारीपछि भट्टराईले जेठ ३२ गते एमाले मधेश प्रदेशको सचिवालय बैठकमा सहभागी भएर नयाँ कार्यक्षेत्रमा पार्टी अभियान सुरु गर्नुभएको छ । त्यहाँ पनि करीब यो डेढ महिनाको अवधिमा ४१ वटा बैठकमा भाग लिनु भएका भएका भट्टराईले ८ वटै जिल्ला कमिटीका बैठक राखिसक्नु भएको छ ।
अहिले मधेस प्रदेशको जिम्मेवारीमा रहनु भएका योगेशले दुई महिने ‘मिसन ग्रासरुट’ अभियानका सिलसिलामा कर्णालीमा देखेका र भोगका केही अनुभव यस्ता रहेछन् ।
कर्णालीमा दलगत अवस्था
कर्णाली प्रदेश हुम्ला, मुगु, जुम्ला, डोल्पा, कालिकोट, दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान र सुर्खेत गरी १० वटा जिल्लालाई समेटेर बनेको प्रदेश हो । हाल कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अवस्थित छ । यो प्रदेशको उत्तरमा मित्र राष्ट्र चीन, पश्चिममा सुदुर पश्चिम प्रदेश, दक्षिणमा लुम्विनी प्रदेश र पूर्वमा गण्डकी प्रदेश रहेको छ ।प्रदेश १० वटा जिल्ला रहेको यो प्रदेशमा १२ वटा निर्वाचन क्षेत्र छन् ।
पछिल्लो जनगणना अनुसार कर्णालीको जनख्या १६ लाख ८८ हजार ४ सय १२ छ । जसमध्ये पुरुषको संख्या ८ लाख २३ हजार ७ सय ६१ र महिलाको ८ लाख ६४ हजार ६ सय ५१ छ । जनसंख्याको हिसावमा सबै भन्दा धेरै सुर्खेतमा ४ लाख १५ हजार १ सय २६ र सबै भन्दा कम डोल्पामा ४२ हजार ७ सय ७४ छ । कूल साक्षरता दर ७६ दशमल १ प्रतिशत रहे पनि महिलाको साक्षरता दर ६९ दशमलब ४ प्रतिशत मात्रै रहेको छ ।
२०७९ को निर्वाचन परिणाम अनुसार कर्णाली प्रदेशमा नेकपा (एमाले)ले समानुपातिकमा कर्णाली प्रदेशमा १ लाख ८३ हजार ९ सय ५० मतसहित पहिलो स्थान प्राप्त गर्दा कांग्रेस १ लाख ७० हजार ७ सय ५६ मतसहित दोस्रो बनेको थियो ।
माओवादीले १ लाख ३७ हजार ६ सय २९ भोट ल्याएर तेस्रो बनेको थियो भने एकीकृत समाजवादीले ३५ हजार ८ सय २६ भोट ल्याएर चौथो तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ हजार १ सय ८६ भोट ल्याएर पाचौँ बनेको थियो ।
यद्यपि, प्रत्यक्षतर्फ भने एमालेले एक सिट पनि जित्न सकेन । प्रदेश सभामा भने एमालेले पाँच सिटमा जित हात पारेको छ । यसरी समग्रमा हेर्दा कर्णाली प्रदेशमा एमालेले प्रतिनिधि सभाको निर्वाचनमा सफलता प्राप्त गर्न नसके पनि एमालेको ग्रासरुट कर्णालीमा बलियो छ ।
मलाई पार्टीले मिसन ग्रासरुट अभियानमा कर्णाली प्रदेशको अनुगमनको जिम्मेवारी तोकेको थियो । त्यतिबेला मसहित कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने अधिकांश केन्द्रीय सदस्यहरु (केही बाहेक) दिएको जिम्मेवारीमा इमान्दारपूर्वक खट्नुभयो ।
मिसन ग्रासरुटमा कर्णालीमा एमाले
अहिले प्रतिनिधि सभामा एक जना दैलेख र एक जना रुकुम गरी समानुपातिकमा दुई जना सांसद हुनुहुन्छ । दुई जनामा पनि एक जना दलित र एकजना महिला सांसद हुनुहुन्छ । उहाँहरु पनि अभियानमा सक्रियता पूर्वक खट्नु भएको थियो । ग्रासरुट अभियानमा म कर्णाली प्रदेशका १० जिल्लामध्ये डोल्पा बाहेकका सबै जिल्लाको भूगोल पुगेँ । ती ९ जिल्लाका मुख्यगरेर जिल्ला स्तरीय कार्यक्रममा सहभागी हुने मौका मिल्यो भने केही जिल्लाका स्थानीय तहका कार्यक्रममा पनि पुगेर त्यहाँको एमालेको जनसंगठन, त्यहाँका स्थानीयको जनजीवन आदिका बारेमा प्रत्यक्ष देख्ने र भोग्ने अवसर प्राप्त गरेँ ।
त्यहाँको भूगोल नटेके पनि कर्णालीबारे धेरै कुराहरु सुन्ने, पढ्ने र देख्ने मौका पाएको छु । हुम्लाको सदरमुकाम सिमकोट तिब्वततिरबाट जोडिएको छ । तर, नेपालतर्फबाट सडक यातायातले जोडिन बाँकी छ । मैले ग्रासरुट अभियानका क्रममा हुम्लाको भूगोल नै टेकेर पनि त्यो अनुभव गर्न पाएँ । बाँकी सबै जिल्ला सदरमुकामसम्म सडक यातायात जोडिएको अवस्था छ । कर्णालीका अधिकांश सडक जीर्ण अवस्थाका छन्, जोखिमपूर्ण छन् ।
त्यहाँका अधिकांश सडक प्रत्येक सेकेण्ड मृत्युसँग साक्षतकार गर्नुपर्ने अवस्थाका छन् । ती सडकमा यात्रा गर्दा हरेक सेकेण्ड मुटु नै चिसो हुन्छ । कर्णाली विकट भन्ने उपमाबाट अहिले पनि पूर्णरुपमा मुक्त हुन सकेको छैन भन्ने कुरा त्यहाँको सडकको दूरावस्थाले पनि प्रतिनिधित्व गर्छ । त्यहाँका साँघुरा र पहाडका घुम्तीबाटोका कारण बढी दुर्घटना भइरहने हुनाले कर्णाली राजमार्गलाई मृत्युमार्गका रूपमा समेत चिन्ने गरिन्छ । अब ती बाटाहरुलाई अझै स्तरोन्नती गरेर अघि बढ्ने हो भने कर्णालीले यो परिचय हटाउने निश्चित जस्तै छ ।
कर्णालीको विकासको पर्खाइका दुई सडक
कर्णालीका दुई वटा सडक छन् । ती सडकको स्तरोन्नती गर्ने र राष्ट्रिय गौरवको आयोजनामा राखेर अघि बढ्ने हो भने ती सडकका कारण कर्णालीले मुहार फेर्ने निश्चि जस्तै छ । ती दुई मध्ये एउटा कर्णाली करिडोर हो । जुन सडक सुर्खेतबाट दैलेखहुँदै कालिकोट, बाजुरा छुँदै मुगु र हुम्ला हुँदै ताक्लाकोटबाट तिब्बतको सिमाना मानसरोबरसम्म पुग्छ । यो सडकलाई राष्ट्रिय गौरवको आयोजनाको सडक बनाउनुपर्छ भनेर हाम्रो पार्टी नेकपा (एमाले)ले सर्वसम्मत धारणा बनाएको छ ।
यो सडकले मानसरोबर कैलाश जानेहरुका लागि पर्यटकीय यात्राका लागि पनि निकै ठूलो सहयोग गर्छ । भारतीय र नेपाली पर्यटकहरुको ठूलो संख्या कैलासमानसरोबर जाने भएकाले पनि यो सडकको बढी महत्व हुनेछ ।
अहिले नेपालगञ्जबाट सिमकोटसम्म जाने र त्यहाँबाट हेलिकोप्टरमा ताक्लाकोटसम्म जाने र त्यहाँबाट गाडीमा जाने अवस्था छ । मौसमका कारण सिमकोटका उडान त्यति भरपर्दो नभएकाले भएकाले पनि त्यो रुट महत्वपूर्ण मानिन्छ ।
मेरो जानकारी अनुसार करीब ७ किलोमिटर जति त्यो सडकको ट्याक खोल्न बाँकी छ । त्यसलाई ‘डबल लेन’का रुपमा विकास गर्न सकेको अवस्थामा कर्णाली प्रदेशको आर्थिक समृद्धिका लागि त्यो सडकले ढोका खुल्ने निश्चित जस्तै छ । अर्को भनेको भेरी करिडोर हो । त्यो भनेको सुर्खेतबाट जाजरकोट हुँदै पश्चिम रुकुमको केही भाग हुँदै डोल्पाबाट तिब्बतको सिमानामा जान्छ ।
१२ वर्षमा फेरिएको कर्णाली
म कर्णाली यो भन्दा १२ वर्ष अघि पनि सबै जिल्ला घुमेको थिए । त्यतिबेलाको कर्णाली र अहिलेको कर्णालीमा धेरै भिन्नता पाएँ । पहिला म कर्णाली जाँदा सदरमुकाममा पनि ढुंगाले छापेका सस्याना घरहरु हुन्थे । त्यो भन्दा पनि पहिलाको कर्णालीको कथा कहाली लाग्दो थियो । एक बोरा चामल र नुन तेलका लागि हप्तो पैदल हिँडेर सुर्खेत पुग्नुपर्ने बाध्यता थियो । पहिला–पहिला कर्णालीमा चामलका लागि लाइन लाग्नुपर्ने अवस्था थियो । अहिले सडक सञ्जालले कर्णालीको त्यो कहर विस्तारै हट्दै गएको छ ।
सदरमुकाममा ठूला–ठूला भवनहरु, ठूला–ठूला होटलहरु निर्माण भएका रहेछन् । कर्णालीबासीको आर्थिक अवस्था विस्तारै सुधार हुँदै गएको संकेत हो, त्यो । कुहेको चामल मात्रै कर्णाली पुग्छ भन्ने विम्ब अहिले विस्तारै त्यो अन्त्य भएको पाएँ । त्यसको मुख्यकारण भनेको सडक सञ्जालको विस्तार नै हो । अहिले हरेक पालिकासम्म नै खाद्यन्न बोकेर गाडीहरु जाने अवस्था बनेको छ । यो कर्णालीको नयाँ कथा हो । पहिला–पहिला पैसा हुँदा पनि किनेर खान पाउने अवस्था थिएन । नेताहरुको पहुँच लगाएर खाद्यन्न लैजानु पर्ने अवस्थाबाट त्यहाँमा मानिसहरु माथि उठेका आशा लाग्दा दृष्यहरु कर्णालीमा देख्दा मन केही आनन्दित भयो ।
कर्णालीको फेरिएको अर्को रोमाञ्चक कथा पनि छ । कर्णालीमा काठमाडौंमा भन्दा सस्तोमा नुन पाइने रहेछ । कर्णाली बाहिरका मान्छे कर्णाली पुगेपछि त्यहाँको स्थानीय उत्पादनसँगै केहीले त नुन समेत किनेर ल्याउने गरेको दृष्टान्तहरु त्यहाँ भेटिने रहेछन् । त्यो गज्जबको परिवर्तन हो भन्ने लाग्यो ।
पहिला म कर्णाली जाँदा र खाना खादा फोहोरका कारण झिँगाले अत्याधिक दुःख दिने अवस्था थियो । म ०६८ सालतिर मुगुदेखि कालिकोटसम्म करिब तीनको यात्रा गरेको सम्झना छ । त्यो बेला गाउँमा बास बस्दा होस या सदरमुकामका होटलहरुमा बस्दा नै । सफा–सुग्घरका मामिलामा एकदमै नाजुक अवस्था देखिन्थ्यो । यो पटक एमालेले चलाएको मिसन ग्रासरुट अभियानका सिलसिलामा कर्णाली पुग्दा त्यो अवस्थामा धेरै सुधार भएको पाएँ । त्यतिबेलाको कर्णालीको जनजीवन र अहिलेको जनजीवनमा धेरै सुधारको संकेत हो भनेर यस्लाई भन्न सकिन्छ ।
घर–घरमा शौचालय
अहिले कर्णालीमा शौचालय नभएका घर नभेटिन मुस्किल पर्ने अवस्था रहेछ । पहिला खुला ठाउँमा दिशा–पिशाव गर्दा रोग फैलिने डर बढी हुन्थ्यो । अहिले घरघरमा निर्माण भएका शौचालयले त्यो दूरावस्थाको पनि विस्तारै अन्त्य हुँदै गएको रहेछ । पहिलापहिला गाइबस्तुको गोठ र मानिस बस्ने एकै ठाउँ हुँदा झिँगालगायतको समस्या जटिल हुन्थ्यो । त्यसले पनि रोग फैलाउन मद्त गथ्र्यौ । अहिले गाइगोठ घर भन्दा अलिक पर राख्ने चलनको विकास भएको रहेछ । स्वास्थ्य चौकीहरु पनि ठाउँठाउँमा खुलेका रहेछन् । त्यसकारण स्वास्थ्यकर्मीमार्फत बढाएको जनचेतनाको प्रभाव पनि हो भन्ने लाग्यो ।
शिक्षणमा स्थानीयको बाहुल्यता
अघिल्लो पटक म कर्णाली जाँदा यादव, चौधरी, झाहरु विद्यालयमा अध्याधिक मात्रामा शिक्षकहरु रहेको भेटेको थिएँ । यो पटकको अभियानमा त्यो अवस्थामा निकै कमी आएको रहेछ । पहिलापहिला कर्णालीमा बाहिरका मान्छे शिक्षक हुन्छन् भन्ने थियो । अहिले कर्णालीमा शिक्षाको दियो बल्दै गएको अनुभव मैले गरेँ । फाट्टफुट्ट रुपमा त यादव, चौधरी, झाहरुले स्थानीयसँगै घरजम गरेर अहिले त्यहिँको स्थानीय बनेका घटनाहरु पनि अनुभव गरेँ । यद्यपि मानवविकास सूचांकमा, प्रतिव्यक्ति आयमा भने अहिले पनि कर्णाली केही पछि परेको देखिएको छ ।
रुकुम पश्चिमा पोलपोटको शासन
राजनीतिक कुरा गर्ने हो भने कर्णालीमा केही अपवाद छाडेर एमाले, कांग्रेस, माओवादीलगायतका दलहरुमा पनि केही व्यक्तिहरुको मात्रै पहुँच रहेको अवस्था रहेछ ।
कर्णालीको एउटा जिल्ला अर्थात रुकुम पश्चिममाचाँहि अहिलेसम्म पनि प्रजातन्त्र आएको रहेनछ भन्ने अनुभूति मैले गरेँ । मेरो भाषामा भन्ने हो भने त्यहाँ ‘पोलपोटको शासन’ रहेछ अहिले पनि ।
त्यो जिल्लामा राज्यको आर्थिक स्रोत सबै एउटै नेताको पक्षमा, एउटै नेताको परिवारको पक्षमा रहेछ । ठेक्कापट्टाका काम उस्को परिवार भन्दा बाहिर जाने अवस्था रहेनछ । राजनीति त्यहि परिवार भन्दा बाहिर जान सकेको अवस्था रहेनछ । राज्य, पार्टी सबैतिर उसैको मात्रै हालीमुहालीको जस्तो अवस्था त्यहाँ रहेछ ।
अन्य पार्टीबाट उदयमान बन्ने अवस्था भयो भने भौतिक आक्रमण गर्ने र पार्टी भित्रका प्रतिद्धन्द्धीलाई समेत कत्लेआम गरेर एक्लै शासन गर्ने अवस्थाको जिल्लाका रुपमा रुकुम पश्चिम देखेँ ।
उदाहरणका लागि यदु गौतम रुकुम पश्चिमका हुनुहुन्थ्यो । पोलपोटको शासनलाई काउन्टर दिन सक्ने व्यक्ति ठानेर उहाँको नियोजितरुपमा हत्या गरियो । माओवादीका लोकेन्द्र विष्ट पनि काउन्टर दिन सक्ने हैसियतका नेता हुनुहुन्थ्यो । उहाँलाई राजनीतिबाटै सन्यास लिने अवस्थामा पुर्याइयो । अहिले उहाँ कृषि कर्ममा दत्तचित्त हुनुहुन्छ । नेपालीका कांग्रेसका हरिभक्त ओली पनि टक्कर दिन सक्ने नेता व्यक्ति हुनुहुन्थ्यो । उहाँलाई पनि कत्लेआम गरियो । त्यसैगरी हेमन्तप्रकाश ओलीलगायतको पनि त्यस्तै अवस्था बनाइयो ।
यतिसम्म कि त्यहाँका सेना, पुलिस र सिडियोलाई समेत आफूले जिल्ला प्रवेश गरेपछि कडा सुरक्षा दिनुपर्ने र लाइन लागेर स्वागत गर्नुपर्ने अवस्थामा राखिएको रहेछ ।
म स्वयं रुकुम पश्चिम पुग्दा त्यहाँको पोलपोट शासनको अनुभव बटुल्ने मौका पाएँ । त्यो जिल्लाको कार्यक्रममा जाँदै गर्दा मेरो पछिपछि केही युवाहरुले लामो समयसम्म पिछा गरिरहे । सुरुमा त मलाई मेरै पार्टीका साथीहरु होलान भन्ने लागेको थियो । तर, होइन रहेछ । उनीहरु मेरो सुराकीका लागि खटिएका रहेछन् ।
मलाई त्यहाँका कमरेडहरुले उनीहरु माओवादी भएको र सुराकीका लागि आएको भने पछि मैले केहीबेर उनीहरुलाई पर्खिएर भेटघाट गरी ‘अहिले केहीको सुराकी आवश्यक छैन । हामी खुलमखुल्ला छौँ । केही जासुस गर्न आवश्यक छैन । लौ हिँड्नुहोस् सगैँ कार्यक्रममा जाऔँ’ भन्दै साथमै लिएर गएँ । यसरी हेर्दा अहिलेसम्म रुकुम पश्चिममा लोकतन्त्र आएको छैन । मलाई जहाँसम्म लाग्छ अब केही समयमै ठूलो क्रान्ति त्यहाँ हुन्छ भन्ने लागेको छ । मानिसहरुमा भित्रभित्रै निकै ठूलो उकुसमुकुस रहेको रहेछ । हामीले मिशन ग्रासरुटमा पनि जति गर्नुपर्ने थियो गर्न सकेनौँ । अब दोस्रो चरणको अभियानमा त्यो कुरालाई तोडेर अघि बढ्नुको विकल्प छैन ।
जडिबुटी र फलफुलमा आश्रित
पछिल्लो कालमा साक्षरताको दर छिटोछिटो बढेको देखियो । त्यहाँको मुख्य व्यापार भनेको जडिबुटीलगायत हो । तर, त्यसले वैधानिक निकास नपाउँदा अवैधानिक बाटोबाट निकासा हुने र खास व्यक्ति मात्रै मालामाल हुने अवस्था रहेछ । ज्यान जोखिममा राखेर टिप्न जाने मानिसले निकै कम मूूल्य प्राप्त गर्ने र विचौलियाहरु मलामाल हुने कठिन अवस्था त्यहाँ रहेछ । यी विषयमा मैले सुन्दै आएको थिएँ । कर्णाली पुग्दा त्यो बारे थप सुन्ने अवसर प्राप्त भयो । त्यसका लागि वैधानिक निकासीको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको छ ।
त्यहाँको मुख्य बालीनाली भनेको गौँ, जौँ, मकै, कोदो भए पनि विस्तारै स्याउ, मार्सी धानमा पनि त्यहाँका मानिसहरु आकर्षित भएको पाइयो । सडक स ञ्जालसँगै उत्पादनसँगै विक्रिका लागि पनि सहज भएको पाइयो । जुम्ला, डोल्पालगायतमा त अग्र्यानिक स्याउ फार्महरु फस्टाउँदै गएका रहेछन् । हिमा नदी, तिला नदीका आसपासका क्षेत्रहरुमा मार्सी धानको खेती हुने गरेको रहेछ । कर्णाली घुम्न जानेहरुले मार्सी, स्याउ र स्थानीय उत्पादन खरिद गर्ने हुँदा त्यहाँको आयस्तर पनि विस्तारै बढ्दै गएको भनुभूति भयो
पर्यटकीय गन्तव्यका लागि कर्णाली
आन्तरिक र बाह्य पर्यटकका लागि कर्णाली विस्तारै गन्तव्य बन्दै आएको छ । डोल्पामा रहेको से–फोक्सुन्डो ताल, मुगुको रारा ताल, जुम्लाको चन्दननाथबाबाको मन्दिर, दैलेखको पंञ्चकोशी, सुर्खेतको बुलबुले ताल र काक्रेबिहार जस्ता क्षेत्र पर्यटनको मुख्य आकर्षक गन्तव्य हुन् । त्यति मात्रै होइन नेपालको एक रुपैयाँको नोटमा अंकित चंखेली हिमाल, जाजरकोटको मालिका गुफा, भकारे दह, जुम्लाका भैरवनाथ मन्दिर, दरवार मन्दिर, कनकासुन्दरी मन्दिर, चिमरामालिका भगवती मन्दिर, शिव मन्दिर, ठाकुरज्यू मन्दिर, रारा राष्ट्रिय निकुञ्ज खण्ड, सिंजाक्षेत्र पनि पर्यटकीय क्षेत्रका रुपमा रहेका छन् ।
समुद्री सतहभन्दा करिब ३ हजार ९०० मिटरको उचाइमा अवस्थित शे–फोक्सुण्डो ताल होस या समुद्री सतह भन्दा २ हजार ९ सय ७२ मिटर उचाईंमा अवस्थित रारा ताल नै किन नहोस् कर्णालीको निधि हुन् ।
त्यसैगरी जमिनमुनिबाट बुल्बुल गर्दै पानी आउने भएर नाम नै बुलबुले ताल भएको सुर्खेतको बुलबुले ताल अनि गोरखाका राजा पृथ्वीनारायण शाहका मित अर्थात् जाजरकोट राज्यका छैटौँ राजा हरि शाहले १८२५ सालमा निर्माण गरेको जाजरकोट दरबार नै किन नहोस् यी पनि कर्णालीका सम्पत्ति हुन् र पर्यटकका लागि मोहित बनाउने स्थल पनि ।
(योगेश भट्टराईसँग कुराकानीमा आधारीत)