विराटनगरबाट ओलीको सन्देशः वेद, गायत्री मन्त्र र मुन्धुमको रचना कोशी प्रदेशमा भएको हो
विराटनगर, १२ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा पाँच पटक र पुष्पकमल दाहाल प्रचण्ड तीन पटक देशको प्रधानमन्त्री भएपनि विकास र समृद्धिमा केही काम गर्न नसकेको आरोप लगाउनु भएको छ । नेकपा (एमाले) कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनको उद्धाटन समारोहमा बोल्दै ओलीले यस्तो बताउनु भएको हो । एमालेले सरकारमा रहँदा उल्लेख्य काम गरेको उहाँको भनाई छ ।
उहाँले एमाले नेतृत्वको सरकारले ३ वर्षमा गरेको कामले दुनियाँ आश्चर्य चकित भएको उल्लेख गर्नुभयो । अपंगता भएकाहरुलाई सम्झने एमाले मात्रै भएको भन्दै आफू नेतृत्वको सरकारेले गरेको कामको फेहरिस्त खोतल्नुभयो ।
एमालेले लिएको विकासको नीतिले आत्तिएर खुद्रा पसल बन्द भएपछि विरोधीहरु एक भएर एमालेलाई घेराबन्दी गर्न खोजेको उहाँको भनाई छ । प्राकृतिक र संस्कृतिक हिसाबले अघि भएर पनि कोशी प्रदेश विकासमा अघि बढ्न नसकेको बताउँदै ओलीले अब एमालेले त्यो अभिभारा पूरा गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेशको विकासका लागि एमालेको नेतृत्व आवश्यक रहेको भन्दै एमाले अब मिसन ०८४ मा लागेको उल्लेख गर्नुभयो । ओलीले उद्घाटन शत्रमा जानु अघि मूल कम्युनिस्ट पार्टी फुटाउन माधव नेपाल र प्रचण्ड लागेको आरोप लगाउनु भएको थियो ।
कोशी प्रदेशमा भौगोलिक विविधता रहेको भन्दै उहाँले वेदको र गायत्री मन्त्रको रचना पनि कोशी प्रदेशमा भएको दाबी गर्नुभयो । उहाँले मुन्धुमको रचनासमेत कोशी प्रदेशमा भएको दाबी गर्नुभयो ।। २८ सय वर्ष अघि चरक ऋषिले पहिलो पटक यसै प्रदेशमा शल्यक्रिया गरेको दाबी गर्दै त्यो समयपछि शल्यक्रिया गरेर बिरामीको उपचार भइरहेको उहाँको दाबी थियो । अध्यक्ष ओलीले कोशी प्रदेश शिव र बिश्वमित्रको तपश्या गरेको भूमि भएको पनि उल्लेख गर्नुभयो ।
ओलीले सबैभन्दा पहिला ज्ञानको सुरूवात यसै प्रदेशबाट भएको भन्दै अहिको यो प्रदेश पछि परेको बताउनुभयो । उहाँले यस्तो पवित्र भूमिको विकासको जिम्मा एमालेको काँधमा आएको बताउनुभयो ।