नेपालको जातीय सद्भाव सिङ्गमरमर हो, अलग गरेर हेर्न सकिन्नः ईश्वर पोखरेल (भिडियोसहित)

काठमाडौं, २६ असोज । नेकपा (एमाले)का वरिष्ठ उपाध्य ईश्वर पोखरेलले नेपाल बुहजाति, बहुभाषा, बहुसंस्कृति र भौगोलिक विविधता भएको देश भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल, काठमाडौंले आज राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ‘यसको अर्थ के–हो भने हाम्रो बिचमा सामाजिक सद्भाव अत्यावश्यक छ,’ उहाँले भन्नुभयो, ‘यो सामाजिक सद्भावको जगमा मात्रै हाम्रो राष्ट्रिय एकता रहन सक्छ ।’

उहाँले हाम्रा अभिव्यक्ति, आचरण र व्यवहारहरुले मात्रै सामाजिक सद्भावलाई कायम राख्ने बताउनुभयो । उहाँले नेपाल देश सिङ्गमरमर जस्तै भएको उल्लेख गर्नुभयो ।

‘मैले धेरै ठाउँमा भन्ने गरेको छु । हामीले सिङ्गमरमर देख्छौँ । सिङ्गमरमरमा बुट्टा नै बुट्टा हुन्छन् । कुनै ठूला हुन्छन् । कुनै साना हुन्छन,’ उहाँले भन्नुभयो, ‘रातो, पहेलो, हरियो, कालो अनेक खालका बुट्टाहरु देखिन्छ । त्यो हजारौँ वर्षको भौगर्भिक र रासायनिक प्रक्रियाबाट त्यो चिज बनेको छ । यी भिन्न छन् । एक आपसमा गाँसिन मिल्दैन भनियो भने त्यो दुर्भाग्य हुन्छ । हाम्रो समाज पनि त्यस्तै हो ।’ उहाँले नेपालको सामाजिक संरचना पनि सिङ्गमरमर जस्तै भएको उल्लेख गर्नुभयो ।

अमेरिका आप्रवासीहरुको बाहुल्यता भएको देश भए जस्तै नेपाल अल्पसंख्यकहरुको देश भएको उल्लेख गर्नुभयो । त्यसैले सद्भाव नै नेपालको आवश्यकता भएको बताउनुभयो । उहाँले राजनीतिक अस्थिरता नेपालका लागि दूर्भाग्य भएको भन्दै राजनीतिक स्थिरता अहिलेको आवश्यकता भएको बताउनुभयो ।

उहाँले राजनीतिक अस्थिरताका कारण राष्ट्रिय स्वाभिमान कमजोर भएको उल्लेख पनि गर्नुभयो । एमाले मिशन ०८४ र मिशन ५१ प्रतिशतको अभियानमा लागेको उहाँको भनाई थियो । कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलगायतले पनि सम्वोधन गर्नुभएको थियो । कार्यक्रम काठमाडौं चौतारीका अध्यक्ष मुुकुन्द भुसालको अध्यक्षतामा सम्पन्न भएको थियो ।