प्रतिस्पर्धालाई विर्सेर एकता र सहमति निर्माणमा जुटौं, निरासालाई चिर्दै अघि बढौंः महासचिव पोखरेल
काठमाडौं, २९ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भर्खरै सम्पन्न सात प्रदेश र उपत्यका प्रदेशको निर्वाचनलाई लक्षित गर्दै निर्वाचित नेतृत्वले अधिवेशनका समयको विशेषगरी नेतृत्व चयनका सन्दर्भमा भएको प्रतिस्पर्धालाई विर्सेर एकता र सहमति निर्माणमा आफुलाई केन्द्रित गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै यस्तो उल्लेख गर्नुभएको छ ।
‘सात प्रदेश र एक विशेष प्रदेशमा प्रदेश अधिवेशन सम्पन्न भएको छ । ५ प्रदेशमा चुनाववाट र ३ प्रदेशमा सहमतिका आधारमा नेतृत्व चयन भएको छ । अधिकांश जिल्लामा प्रदेश सदस्यका लागि सहमति भएको छ । प्रदेश अधिवेशनवाट निर्वाचित नेतृत्वलाई हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना । अघिवेशन सफलतापूर्वक सम्पन्न गर्ने आयोजक कमिटीलाई धन्यवाद,’ उहाँले भन्नुभएको छ । अब प्रतिस्पर्धाका कारणले कमिटीवाट बाहिरिएका कमरेडहरुको कामको जिम्मेवारीको योजना बनाएर कार्यान्वयनमा लैजानु पर्दछ । प्रतिस्पर्धाका आधारमा नेतृत्व चयन भएका प्रदेशले जिल्ला अधिवेशनमा सहमति जुटाउन अधिकतम् जोड दिनुपर्दछ । निर्वाचित कमिटीले मापदण्डका आधारमा सचिवालय गठन र कार्यविभाजनको काममा अविलम्व ध्यान दिनुपर्दछ ।’
पोखरेलले विधानको व्यवस्था अनुसार मनोनयनको अधिकार एकैचोटी प्रयोग नगरी आवश्यकताका आधारमा गर्दैजाने नीति अवलम्वन गर्नु उचित हुने सल्लाह पनि दिनुभएको छ । ‘मिसन ग्रासरुटले औल्याएका समस्या र सुझावका आधारमा वार्षिक कार्ययोजना तयार गरी योजनावद्ध रुपमा कामलाई अघि वढाउनु पर्दछ,’ उहाँले भन्नुभएको छ, ‘पार्टी सदस्यको योजनावद्ध परिचालन, सदस्यता विस्तार, प्रशिक्षण, कमिटी परिचालन र सुदृढिकरण, कार्यालय व्यवस्थापन, युवा नेतृत्वको विकास जस्ता विषयमा जोड दिनुपर्दछ । जनसरोकारका विषय र सामाजिक मुद्दाहरुमा आन्दोलन र अभियान संचालन गर्नुपर्दछ । र, सबै वर्ग र समुदायका जनताका बीचमा पार्टीलाई स्थापित गर्ने काम गर्नु पर्दछ ।’
उहाँले नियमित रुपमा कमिटीका बैठक आयोजना गर्ने र गर्न लगाउने कामको नेतृत्व गर्नुपर्ने, लगातार विनाकुनै उचित कारण अनुपस्थित हुने सदस्य तथा पदाधिकारीलाई कमिटीवाट विदागर्ने व्यवस्था लागु गर्नुपर्ने, वर्तमान गठनवन्धन सरकारका जनविरोधी र राष्ट्र विरोधी क्रियाकलापको विरोध र भण्डाफोर गर्नु पर्ने जस्ता सुझाव पनि दिनुभएको छ । ‘नयाँका नाममा पपुलिजमका आधारमा यस्थास्थितिवादको सेवा गर्ने गलत प्रवृत्तिका वारेमा जनतालाई सचेत र जागरुक बनाउनु पर्दछ,’ उहाँले भन्नुभएको छ, ‘समग्र पार्टी पंक्तिलाई मिसन ८४ का लागि परिचालित गर्नु पर्दछ र हरेकका घरघरमा पुगेर पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्नु किन आवश्यक छ भन्ने कुरा बताउनु पर्दछ । निरासालाई चिर्दै जनतामा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुराहुने विस्वास जागृत गरौं । सबैलाई विजया दसमीको हार्दिक मंगलमय शुभकामना ।’