चितवनमा विद्युत महशुल नबुझाउने दुई सय ७६ ग्राहक कालोसूचीमा

चितवन, १३ कात्तिक । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले दुई सय ६७ ग्राहकलाई कालोसूचीमा राखेको छ । छ महिनासम्म पनि बक्यौता रकम नबुझाउने ग्राहकलाई केन्द्रले कालोसूचीमा राखेको हो ।

कालोसूचीमा परेका ग्राहकबाट रु ७३ लाख तीन हजार बक्यौता उठाउन बाँकी रहेको छ । कार्यालयका इञ्जिनीयर राजेन्द्र पौडेलका अनुसार घरायसी बिजुली उपभोग गर्ने दुई सय १४ ग्राहक कालोसूचीमा परेका छन् ।

यस्तै ३९ वटा उद्योग, छ वटा संस्थागत, तीन वटा पानी उद्योगलाई पनि कालो सूचीमा राखिएको छ । लामो समयसम्म बक्यौता रकम नतिर्ने ग्राकलाई कालोसूचीमा राख्ने र दुई महिनासम्म महसुल नबुझाउने ग्राहकको लाईन काट्ने काम सुरु गरिएको उहाँले बताउनुभयो ।

दुई महिनासम्म विद्युत् महसुल नबुझाउने ग्राहकको लाइनकाट्ने काम आइतबारदेखि सुरु गरिएकामा पहिलो दिन विद्युत् महसुल धेरै बाँकी रहेका दस ग्राहकको लाईन काटिएको छ ।

लाइन काटेसँगै कतिपयले रकमसमेत भुक्तानी गरिसकेका छन् । प्राधिकरणका कर्मचारीले विद्युत् मिटरबक्स रिडिङ गरेको दुई महिनासम्म महसुल नबुझाउने ग्राहकको लाइन काट्न थालेको हो ।

दुई महिना नाघेका ग्राहकबाट मात्रै रु ३५ करोड ४१ लाख ५३ हजार शुल्क उठ्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो । दुई वर्षभन्दा माथिको रु दस करोड ५६ लाख ४४ हजार बक्यौता रकम उठाउन बाँकी रहेकोे छ । कार्यालयले चालु आर्थिक वर्षसम्म रु ४३ करोड ५५ लाख ७८ हजार विद्युत् महसुल उठाउन बाँकी रहेको इञ्जिनीयर पौडेलले बताउनुभयो ।