न्यूरोडमा न्यूरोड नेपाली जुत्ताघरको उद्घाटन

काठमाडौं, १७ कात्तिक । नेपाली जुत्ता चप्पल उत्पादक समुहद्वारा ‘नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुख्य नाराका साथ नेपाली ब्राण्डका जुत्ता चप्पलको सामुहिक शोरुम न्यूरोड नेपाली जुत्ताघरको उद्घाटन गरेका छन् ।

उक्त सामुहिक शोरुमको उद्घाटन प्रतिनिधि सभा सदस्य लालप्रसाद सावा लिम्बुले गर्नुभएकाे हाे ।
शोरुमका सफलताका लागि शुभकामना दिनुहुँदै उहाँले नेपाली उत्पादनको प्रवद्र्धनका लागि सक्दो सहयोग गर्ने र नीतिगत रुपमा सिँगो उत्पादन क्षेत्रलाई अगाडी बढाउनका लागि महत्वपूर्ण भुमिका निभाउने बताउनुभयाे ।

साथै उद्योगमार्फत् रोजगारी सिर्जना गरी आर्थिक रुपमा योगदान पुर्‍याएकोमा जुत्ता उत्पादक उद्योगी व्यवसायीहरुलाई धन्यवाद दिनुभयाे । उद्घाटन कार्यक्रममा उद्योग बाणिज्य महासंघका पुर्वकार्यकारी सदस्य, वर्तमान कार्यकारी सदस्य तथा फुटवेयर व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने उदेश्यले नेपाली जुत्ता उत्पादक समूहद्वारा सामुहिक शोरुम अवधारणा अन्तर्गत खोलिएको यस न्यूरोड नेपाली जुत्ताघर चौथो शोरुम हो । यस अघि पोखरा, बुटबल र जनकपुरमा तिनवटा सामुहिक शोरुमको उद्घाटन गरिसकेको छ ।

साथै, आगामी दिनमा देशभरका विभिन्न स्थानहरुमा नयाँ शोरुमहरु खोल्ने र उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादनहरु उपलब्ध गराउने जानकारी गराइएको छ । न्यूरोड नेपाली जुत्ता घरमा विएफ डियर हिल र विएफ स्पोट, क्रस रोड, –रोयल शुज, फस्टवाक शुज, डिजे शुज, कोसेली सुज, रन शुज र स्मार्ट शुज गरी ८ वटा ब्राण्डका जुत्ता चप्पलहरु आकर्षक छुटमा उपलव्ध रहेका छन् ।