मूल्य घटेपछि च्याउ उत्पादक किसान मर्कामा

कास्की, १९ कात्तिक । उत्पादित च्याउको बजार मूल्य अत्यधिक मात्रामा घटेपछि कास्कीका च्याउ किसान मर्कामा परेका छन् ।

च्याउ उत्पादन वृद्धिसँगै मूल्यमा आएको भारी गिरावटका कारण कास्कीमा व्यावसायिक च्याउखेती गर्ने किसान मर्कामा परेका हुन् । डेढ महिनाअघि प्रतिकिलो रु दुई सय बजार मूल्य रहेको कन्य च्याउको मूल्य यतिबेला घटेर प्रतिकिलो रु ६० पुगेको छ ।

पोखरा बजारमा बढी मात्रामा उपभोक्ताले उपभोग गर्ने च्याउ कन्य नै हो । चिसो मौसममा च्याउको उत्पादन पनि बढी हुने गर्छ । किसानले उत्पादन गरेको कन्य च्याउ पोखरा बजारमा दैनिक चार हजार किलो बिक्री हुने गर्छ । कास्कीमा व्यावसायिक च्याउखेती गर्ने किसानको सङ्ख्या २० र बाहिरबाट पनि केहीमात्रामा च्याउ आयात हुने गरेको छ ।

पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले किसानको उत्पादन गरेको च्याउ र सिमीको मूल्य यतिबेला अत्यधिक मात्रामा घटेपछि किसानको लागत मूल्यसमेत उठ्न नसकेको बताउनुभयो ।

पोखरा–१९ लामाचौरका च्याउ उत्पादक किसान सन्दीप क्षेत्रीले एक किलो च्याउ उत्पादन गर्न लागत मूल्य रु एक सय ३० लाग्छ तर प्रतिकिलो ६० मा बिक्री गर्नुपर्दा च्याउ किसानको लगानी सिधै डुब्ने अवस्थामा पुगेको बताउनुभयो । रु १४ लाखको लागतमा छ रोपनी जग्गामा उत्पादन गरेको च्याउले बजार नपाउँदा आफूले ठूलो नोक्सानी व्यहोर्नुपरेको उहाँले बताउनुभयो ।

महानगरपालिकामा सूचीकृत किसानले उत्पादन गरेको च्याउको न्यूनतम समर्थन मूल्य तोकिदिएका कारण च्याउ किसान विस्थापित नै हुनुपर्ने अवस्थामा भने छैन । महानगरले पोखरामा च्याउको समर्थन मूल्य रु एक सय ३० तोकेको छ । गत वर्ष महानगरले पोखरामा च्याउको न्यूनतम समर्थन मूल्य रु एक सय ५० तोकेको थियो । यस वर्ष रु २० घटाएर रु एक सय ३० कायम गरिएको कृषि महाशाखा प्रमुख कडरियाले जानकारी दिनुभयो ।

लागत मूल्यलाई आधार बनाएर न्यूनतम समर्थन मूल्य तोकिएको उहाँले बताउनुभयो । “समर्थन मूल्यभन्दा कम मूल्यमा किसानले च्याउ बेचेमा त्यसमा थपेर समर्थन मूल्य बराबर महानगरले रकम उपलब्ध गराउँछ”, कडरियाले भन्नुभयो, “समर्थन मूल्यका कारण च्याउखेतीबाट विस्थापित हुने स्थिति आउँदैन, न्यूनतम समर्थन मूल्यबापतको रकम लिन पनि सजिलो छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *