तिहार पछिको पहिलो कारोबार सामान्य अंक बढ्याे नेप्से

काठमाडाैं, ४ मंसिर । तिहार पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।

तिहार अघिको अन्तिम कारोबार दिन साढे ११ अंक घटेर बन्द भएको नेप्से, यस दिन सामान्य अंक बढेर बन्द भएको हो।

सोमबार नेप्से परिसूचक १.३९ अंक बढेर १८५३.४८ विन्दुमा पुगेको छ। यता सेन्सेटिभ इण्डेक्स ०.५० अंक बढेको छ।

यस दिन २८४ स्टकको ४४ हजार ७२७ पटकको कारोबारमा १ अर्ब ९ करोड ९३ लाख रुपैयाँ बराबरको ३३ लाख १९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से सामान्य अंक बढेपनि यस दिन एक स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन ग्लोबल आइएमई लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यसैगरी, यस दिन कर्णाली डेभलपमेन्ट बैंकको शेयर करिब १० प्रतिशत बढेको छ । यस दिन तीन स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन फरवार्ड माइक्रोफाइनान्स लघुवित्त, सयपत्री हाइड्रोपावर र माथिल्लो मैलुङ खोला जलविद्युतको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। १३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ।