मुगुबाट महासचिव पोखरेलको उद्घोषः ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’

मुगु, मंसिर १० । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विकासका दृष्टिकोणले देशलाई सबैभन्दा पछाडि पार्ने काम राजा र राजतन्त्रले गरेको बताउनुभएको छ ।
नेकपा (एमाले) मुगु जिल्ला कमिटीको नवौं अधिवेशनको सदरमुकाम गमगढीमा उद्घाटन गर्दै महासचिव पोखरेलले राजा र राजपरिवारका सदस्यको रक्षा गर्न नसक्ने राजसंस्थाले जनताको रक्षा गर्न नसक्ने धारणा राख्नुभयो ।

कालापानीको लिम्पियाधुरा, लिपुलेक क्षेत्रको नेपाली भूभाग भारतीय कब्जामा पुग्नुमा राजा महेन्द्रले कालापानीमा भारतीय सेना राख्न दिएकाले हो भन्ने यथार्थ बुझ्नुपर्ने उहाँको भनाइ छ ।

महासचिव पोखरेलले देशमा राजनीतिक अस्थिरता, वर्तमान गठबन्धन सरकारको असफलताका कारण अराजकता सिर्जना भइरहेको र राजकतावादीहरूले ठूलो बलिदानबाट ल्याएको गणतन्त्रमाथि औंला ठड्याउन थालेको बताउनुभयो ।

देशको अर्थतन्त्र तहस नहस भएको, विकास, निर्माणका काम ठप्प भइरहेको, समाजमा अराजकता मौलाइरहेको र जनतामा निराशा पैदा भइरहेको विषम अवस्थालाई बेवास्ता गर्दै सबैभन्दा ठूलो र पुरानो भनिएको दल नेपाली कांग्रेस दुई बर्षपछि सरकारको नेतृत्व गर्ने पालो पर्खेर बसिरहेको महासचिव पोखरेलले बताउनुभयो । कांग्रेसले आफ्नो नीति अनुसार नेतृत्व गर्ने सामर्थ्य गुमाइसकेको बताउँदै उहाँले प्रश्न गर्नुभयोे– देश विग्रेको टुलुटुलु हेरेर बस्ने कि सरकारको नेतृत्व फेर्ने  ?

माओवादी नेतृत्वको वर्तमान सरकार देशका लागि नभई विदेशीका लागि कम्फर्टेबल सरकार हो भन्ने कुरा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणले पुष्टि गरेको महासचिव पोखरेलको भनाइ छ ।

महासचिव पोखरेलले जनप्रतिनिधिले शासन गर्ने अधिकारलाई कमजोर बनाउँदा जनतामा निराशा पैदा भएको विचार व्यक्त गर्नुभयो । २०७४ सालको संसदीय निर्वाचनमा जनताले नेकपा (एमाले) र माओवादीलाई बहुमत दिएका थिए, अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले देशलाई हरेक प्रकारले सकारात्मक दिशामा अगाडि बढाइरहेको अवस्थामा त्यो सरकार हटाइएपछि जनतामा निराशा बढेको विचार उहाँले व्यक्त गर्नुभयो ।

महासचिव पोखरेलले भन्नुभयो– नालायक गठबन्धन सरकारका कारण अर्थतन्त्र सङ्कटमा परेको छ । बर्सेनि लाखौं युवा विदेशिइरहेका छन् । देश बनाउनुपर्ने जनशक्तिलाई खाडी मुलुकमा पठाएर कसरी देश बन्छ रु
अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा सडक, हवाई मैदान, भवनहरू निर्माण लगायत भौतिक पूर्वाधारका कामहरू भएका, सुरुङ मार्ग, सिंचाइ परियोजना जस्ता रोजगारी सिर्जना गर्ने आयोजनाहरू शुरु गरिएको र विदेश जाने युवाको सङ्ख्यामा कमी आएको चर्चा गर्दै त्यसैगरी रोजगारी बढाउने ठूला परियोजना सञ्चालन गर्नुपर्ने धारणा महासचिव पोखरेलले राख्नुभयो ।

एमालेले मिसन ग्रासरुटको प्रतिवेदनका आधारमा देश कसरी बनाउने भन्ने नयाँ योजनाका साथ अगाडि बढिरहेको र कर्णालीको समृद्धिको आधार के हो भन्ने कुरामा पनि प्रस्ट रहेको उहाँले सुनाउनुभयो ।

महासचिव पोखरेलले भन्नुभयो– कर्णालीलाई पर्यटकीय केन्द्र बनाउन सकिन्छ । जलविद्युत परियोजना कर्णाली समृद्धिको अर्को आधार हो । यहाँका जडिबटी, यार्सागुम्वा भविष्यमा फार्मिङ गरेरै उत्पादन गर्न सकिन्छ । त्यसका लागि दूरदृष्टि भएको नेतृत्व र त्यसलाई अगाडि बढाउने बलियो संगठन चाहिन्छ ।

आफूहरूनेकपा (एमाले) लाई बलियो राष्ट्रिय शक्ति बनाउने र आगामी निर्वाचनमा एकल बहुमतको सरकार बनाई देशको विकास र समृद्धिको नेतृत्व गर्ने सङ्कल्पका साथ अगाडि बढिरहेको बताउँदै त्यही सङ्कल्पको एउटा कदम यही मङ्सिर १४ गतेदेखि मध्यपहाडि (पुष्पलाल) लोकमार्ग यात्रा ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा शुरु गर्न लागिएको उहाँले स्पष्ट गर्नुभयो ।

महासचिव पोखरेलले यस अघि पटक पटक तराईको भूभागमा मेची–महाकाली यात्रा गरिएको स्मरण गर्दै यसपछि हिमाली क्षेत्रको विकासको सम्भावनाको जानकारी लिन हिमाली जिल्लाको यात्रा पनि गरिने बताउनुभयो ।

उहाँले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै सर्वसम्मत नेतृत्व चयन गर्न सफलता मिलोस् भन्नुभयो । अधिवेशन उद्घाटन सत्रमा पार्टीका सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटी, यामलाल कँडेल लगायत नेताहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो ।