बालकुमारी इपिएस घटना : मन्त्री ज्वालाको कमजोरी देखिएकाे जाँचबुझ आयोगकाे निष्कर्ष

काठमाडाैं, ४ फागुन । ललितपुरकाे बालकुमारीमा भएकाे घटनामा भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको कमजोरी देखिएकाे छ ।

घटनाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले उक्त घटना भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको कमजाेरीका कारण भएकाे निष्कर्ष निकालेको हाे ।

आयोगले उक्त घटनामा सुरक्षा व्यवस्थालाई बेवास्ता गरेको भन्दै मन्त्री ज्वालालाई दोष देखाइएकाे आयोग स्रोतले बताएको छ।

मन्त्री ज्वालाकै निर्देशनमा गाडी विपरीत दिशामा प्रवेश गर्दा उक्त घटना भएको आयोगको ठहर छ।

उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल अध्यक्ष तथा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक अरूणकुमार बिसी र गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराई सदस्य रहेको उक्त आयोगले शुक्रबार उपप्रधान एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवदेन बुझाएको हो।

उक्त समितिले मन्त्रीको मुख्य दोष देखिएको भने पनि निलम्बित दुई प्रहरी अधिकारीको पनि केही कमजोरी औंल्याएको छ।

डिएसपी उमेश लम्साल र पिएस‌ओ बोधराज दनुवारलाई विभागीय कारबाही सिफारिस गरेको पनि आयोग स्रोतले बतायो । फिल्ड कमाण्डर समेत रहेका डिएसपी लम्सालले अश्रुग्यासका सेलहरू पहिल्यै प्रयोग गरिसकेको, माथिल्लो निकायसँग समन्वय नगरी गोली चलाएको र मन्त्री ज्वाला भएको ठाउँसम्म पुग्नेक्रममा अश्रुग्यास सेलहरू सकेको पाइएको भन्दै कमजोरी देखिएको बताएको हो।

मन्त्रीको रूटबारे पनि पहिल्यै जानकारी लिनुपर्ने आयोगले जनाएको छ। त्यस्तै पिएसओ दनुवारलाई यस्ता घटनाबारे पहिल्यै अवगत हुनुपर्ने, घटनाबारे थाहा पाइसकेपछि पनि जबरजस्ती गर्न नहुने आयोगको निष्कर्ष छ।

गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो।

आयोगका अध्यक्ष पौडेलले जारी गरेको विज्ञप्तिका अनुसार आयोगले घटनास्थलको निरीक्षण गरेको, प्रत्यक्षदर्शी, सञ्चारकर्मी, पीडितका परिवार, घटनाका घाइते, विशेषज्ञ डाक्टर तथा घटनासँग सम्बन्धित अन्य मानिससहित १६ जनाको बयान कागज गरेको र घटनासँग सम्बन्धित सुरक्षा निकायका पदाधिकारी एवं अन्यसमेत गरी २९ जनाको बयान गरेको जनाइएको छ।