सीआईबीले बुझ्यो सुन तस्करी सम्बन्धि आयोगको प्रतिवेदन
काठमाडौं, ४ चैत । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करी सम्बन्धि उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन बुझेको छ ।
पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगको प्रतिवेदन आइतबार सीआईबीले बुझेको हो ।
आइतबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबी प्रमुख श्याम ज्ञवालीसहित छलफल गरी कारबाही अघि बढाउन निर्देशन दिएका हुन् ।
विमानस्थलको भन्सार जाँच पास गरेको तस्करी भएको ६० किलो सुन, भेपमार्फत आएको सुन तस्करी लगायतमा राजनीतिक नेतृत्वलाई जोगाइएको आरोप लागिरहेका बेला उच्चस्तरीय छानबिन आयोग बनाउन दबाब बढेको थियो ।
मन्त्रालय स्रोतकाअनुसार गृहमन्त्रीले पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महरासहित यस प्रकरणमा आयोगले किटान गरेका निजामती कर्मचारी, प्रहरी र अन्य तस्करीमा संलग्न रहेका व्यक्तिलाई बयान लिई कारबाही अघि बढाउन निर्देशन दिएका छन् ।