वामपन्थी एकता हुन्छ तर पार्टीलाई हानी पुर्याउनेहरुसँग भने एकता हुँदैन : अध्यक्ष ओली

काठमाडौँ, ३ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई हानी पुर्याउनेहरुसँग वामपन्थी एकता नहुने बताउनुभएकाे छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा आज भएको सो पार्टीको संसदीय दलको बैठकमा उहाँले राष्ट्रिय शक्ति मिलेर मुलुकलाई सुशासन र समृद्धिको बाटोतर्फ अगाडि लैजानुपर्ने भन्दै यस्ताे बताउनुभएकाे हाे ।

मुलुकुलाई सुशासन र समृद्धिको बाटोतर्फ लैजान राष्ट्रिय शक्तिबीच एकता आवश्यक भयकाे भन्दै उहाँले उपयुक्त समयमा वामपन्थी एकता हुने तर पार्टीलाई हानी पुर्याउनेहरुसँग भने एकता नहुने स्पष्ट पार्नुभयो ।

अध्यक्ष ओलीले अहिले आफूले वामपन्थी शक्तिहरुलाई जुटाउने मात्र काम गरेको तर केही स्वार्थी तत्वले सधैं आन्दोलनलाई कमजोर बनाउने काम गरेको बताउनुभयो ।

अध्यक्ष ओलीले संसदीय समितिमा पार्टीको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो । “संसदमा हाम्रो सहभागिता सक्रिय र प्रभावकारी हुनुपर्दछ । गलत निर्णय संसदबाट हुनुहुँदैन । भोलिका दिनमा संसदको इतिहास हेर्दा पनि संसदले यस्तो गरेछ भन्ने नहोस्”, उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले समितिमा कुनै विषयमा कहिलेकाहीँ स्वार्थ समूहले प्रभावित गर्ने भएकाले त्यस्ता स्वार्थ समूहका हित हावी भएर राष्ट्रिय हित कमजोर बनाउन नहुने धारणा समेत राख्नुभयो । उहाँले सही दिशामा राजनीतिक फर्कदै गरेको अवस्थामा सुदूरपश्चिम प्रदेशमा देखिएको विवादले केही प्रभाव नपार्ने बताउनुभयो ।

अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनु अहिलेको प्रमुख उद्देश्य भएको भन्दै सोहीअनुसार पार्टीलाई अगाडि बढाउने बताउनुभयो । उहाँले पार्टीका सांसदलाई धेरै विदेश भ्रमण नगर्न सुझाव दिँदै सांसदलाई गल्ती र ठगीबाट जोगिने आग्रह गर्नुभयो ।