ईश्वर पोखरेलको जन्मदिनमा, जन्मभूमि र जन्मघरसम्मको संयात्रा (भिडियो)

मोहन बास्तोला 

काठमाडौं, वैशाख ४ । चैतको अन्तिम हप्ताको काठमाडौंको मौसम गज्जबले खुलेको थियो भने भने नेकपा (एमाले)को मुख्यालमा हँसिया–हतौडा अंकित झण्डा निलो आकाशलाई पृष्ठभूमिमा राखेर फहराई रहेको थियो । नेकपा (एमाले) ओखलढुंगाको १० औँ जिल्लाअधिवेशका लागि नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा हाम्रो टोली चैत २५ गते नै एमाले मुख्यालयमा भेला भएर ओखलढुंगा जाने तयारीमा थियौँ ।

मध्यान्ह १२ बजेतिर हाम्रो टोली मुख्यालयबाट निस्किने तयारीमा थियो । तर, गज्जबको संयोग के भने त्यहि दिन वरिष्ठ उपाध्यक्ष पोखरेलको जन्मदिन पनि परेको थियो । पटक–पटक ओखलढुंगाको यात्रा गरेको मलाई यो पटकको यात्रामा ७० वर्ष अघि ओखलढुंगाकै माख्खामा जन्मिनु भएका र पूर्वउपप्रधानमन्त्री समेत भइसक्नु भएका एमालेका वरिष्ठ नेता पोखरेलसँगै जन्मदिनको अवसरमा उहाँको जन्मभूमि हुँदै जन्मघरसम्म पुग्ने त्यहाँको माटोसँग स्पर्श गर्ने र उहाँका बाल्यकालका स्मरणहरु खोतल्ने रहर उत्कट बनेको थियो ।

करीब तीन दिनको यात्राका लागि केही लुगाफाटो र व्याग बोकेर म ११ बजेतिर मुख्यालय पुगेको थिएँ । त्यसको केही समयपछि उपाध्यक्ष पोखरेल पनि मुख्यालयमा प्रवेश गर्नुभयो । उहाँको जन्मदिन पनि परेकाले एमालेका सचिवालय प्रमुख डाक्टर भिष्म अधिकारीले मुख्यालयमै पोखरेलको जन्मदिन मनाउने तयारी गर्नुभएको रहेछ ।
पोखरेल मुख्यालय पुग्नु अघि नै एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्यहरु भानुभक्त ढकाल, डाक्टर राजन भट्टराईलगायतका नेता महासचिवकै कार्यकक्षमा हुनुहुन्थ्यो । केहीबेरपछि उपाध्यक्ष सुरेन्द्र पाण्डे, नेताहरु लालबाबु पण्डित, खिमलाल भट्टराई, विष्णु रिजाललगायत पनि आइपुग्नुभयो ।

अकसमात्को तयारीमा मुख्यालमै पोखरेलको जन्मदिन मनाउँदा पोखरेल पनि निकै पुलकित देखिनु भएको थियो । मुख्यालयमै धूमधामसँग जन्मदिन मनाएपछि पोखरेलसहित प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डे, युवा नेताहरु जालन्धर कार्की, निराजन पौडेल, महालक्ष्मी गुरुङ, पोखरेलका अंगरक्षक अशोक पोखरेल र चालकसहितको टोली हामी ओखलढुंगाको यात्राका लागि अघि बढ्यौँ । १२ बजे आसपासमा मुख्यालयबाट निस्किने तयारी भए पनि हामी त्यहाँबाट निस्किदाँ दिउँसाको २ बजिसकेको थियो । हामी काठमाडौंबाट कोटेश्वर, धुलिखेल, सिन्धुलीहुँदै ओखलढुंगा पुग्दा रातको करिब ९ बजेको थियो ।

लामो यात्रापछि थकित भएर ओखलढुंगा पुग्दा त्यहाँ एमाले स्थायी कमिटी सदस्य शेरधन राई, केन्द्रीय सदस्य यज्ञराज सुनुवारलगायतका नेताहरु स्वागतका लागि तयारी अवस्थामा हुनुहुँदो हरेछ । स्वागतपछि पोखरेलले नै शिलान्यास गरेको ओखलढुंगा एमालेको पार्टी कार्यलयको सबै भन्दा माथिल्लो तलमा रहेको मिटिङ हलमा पुग्दा त्यहाँ पनि उहाँको जन्मदिनमा केक काट्ने तयारी गरिएको रहेछ । मुख्यालयमा केक काटेर धूमधामसँग विदाई हुनुभएका पोखरेल आफ्नो जन्मभूमिमा आइपुग्दा पनि त्यस्तै धूमधामको तयारीसहितको स्वागतले केही केही नोस्टाल्जिया हुनुभयो ।

रात छिपिदैँ थियो तर ओखलढुंगावासीको मुहारमा भने ७० वर्ष अघि ओखलढुंगाकै माटोमा जन्मिनु भएका आफ्ना प्रिय नेतालाई आफ्नै भूगोमा पहिलो पटक धूमधामसँग जन्मदिन मनाउने अवसर प्राप्त हुँदा खुशी छाएको देखिन्थ्यो । एकै स्वरमा सबैले ‘ह्यापी बर्थ डे’ भन्दै पोखरेलको जन्मदिन मनाउँदा पोखरले पनि केही भावुक बन्नुभयो । उहाँले सम्वोधनका क्रममा पनि आफू जतिसुकै उच्च ओहदामा रहे पनि वा पुगेपनि जन्मभूमिको माटो नविर्सिने भन्दै ओखलढुंगेली जनताकै मनमुटुमा रहिरने प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । यात्राको दोस्रो दिन अधिवेशनकै चहलपहलमा वित्यो । यात्राको तेस्रो दिन भने पोखरेलको जन्मघरसम्म जाने कार्यक्रम तय भएको थियो ।

कार्यक्रम तालिका अनुसार नै दुई ओटा गाडीमा एमाले स्थायी कमिटी सदस्य राईसहित हामी पोखरेलको जन्मघरतिरको यात्राका लागि मोडियौँ । ओखलढुंगाबाट केही अघि बढेपछि चित्रे पुगियो । पोखरेलले केहीबेर त्यहाँ गाडी रोक्न लगाउनुभयो र चोरीऔंलाले सिस्ने खोलापारी रहेको र आज भन्दा करीब ५० वर्ष अघि अर्थात २०१९ सालमा सर्भे भएर कच्ची धावनमार्गमा २०३१ देखि नियमित उडान भएको रुम्जाटारतिर देखाउँदै त्यसैको ठिक पारीपट्टीको माम्खा आफ्नो जन्मगाउँ भएको जानकारी दिनुभयो ।
करीब १० किलोमिटरको यात्रापछि हामी रुम्जाटर पुग्यौँ । त्यहाँ पूर्व प्रदेश मन्त्री अमीरबाबु गुरुङले आफ्नै निवासमा बिहानको नास्ताको व्यवस्था गर्नुभएको रहेछ ।

रुम्जाटार पुग्दा ‘घुमिफिरी रुम्जाटार’ भन्ने उखानदेखि करीब दुई सय वर्षअघिदेखि भेडा पाल्न थालेका स्थानीय गुरुङ समुदाय र उनीहरुले बुनेका राडीपाखीसम्मको कथा मेरो मानसपटलमा नाच्न थाल्यो । मैले २०४० साल सम्म पनि रुम्जाटारमा करिब ५० हजार भेडा पालिन्थ्यो भन्ने इतिहास मैले सुनेको थिए । त्यतिबेला एक घरमा कम्तीमा ३०–४० भेडा हुने गरेको र धेरैले त सयभन्दा बढी भेडा पाल्ने गरेको र समूहमा मिसाएर भेडा चराउने गरेको इतिहास पनि मैले सुनेको थिएँ । रुम्जाटार पुग्दा ती इतिहास पनि मेरो मानसपटलमा ताजा बने । त्यति मात्रै होइन २०१३ साल अर्थात पोखरेल जन्मिएको तीन वर्षपछि तत्कालिन राजा महेन्द्र रुम्जाटार पुगेर रुम्जाटारमा दुई रात बिताएको अनि नेपालको पहिलो महिला गायिका मेलवादेवी गुरुङलाई पनि रुम्जाटारको माटोमा उँभिएर सम्झिए ।

दरबारसँग समेत पुरानो साइनो जोडिएको रुम्जाटार महेन्द्रको ससुराली गाउँ पनि हो । रुम्जाटारकै रम्बा गुरुङ राजा महेन्द्रकी पहिलो रानी थिइन । महेन्द्र र रम्बाबाट जन्मेका रवीन्द्र शाह वीरेन्द्र भन्दा जेठो भए पनि उनलाई अवैध मानिएका कारण रवीन्द्र राजा हुन पाएनन् । माम्खा यात्राकै क्रममा रम्बाकी भाईबुहारी पानमाया गुरुङको देहावसान भएको खवरपछि उहाँको घरमा पुग्यौँ । त्यहाँ हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेपछि हामी पोखरेलको जन्मघरको यात्रामा अघि बढ्यौँ ।

कुनैबेला भेडाका बथान र सुन्तलाघारी र फलफुलघारीले सुन्दर रुम्जाटार अहिले रातो पाखोमा परिणत भएको रहेछ । हामी कतै सुन्दर वस्ती त कतै राता पाखाका दृष्य कैद गर्दै रुम्जाटारको पुछारहुँदै ठोट्ने खोला पुग्यो । बाल्यकालमा खालीखुट्टा भर्खर सर्वे भएको हवाई जहाज गिराउन हेर्न त्यहि ठोट्ने खोला तर्दै रुम्जाटारसम्म पुग्ने पोखरेलले पक्किपुल देखाउँदै दुर्गम गाउँले विस्तारै विकासको मुहार देख्न पाएको भन्दै मुहार पनि उज्यालो बनाउनुभयो । मैले पनि त्यहि ठोट्ने खोलाको पानीले हरियाली बनेका केही बेँसीहरु क्यामेरामा कैद गरेँ ।

हामी ठोट्ने खोला तरेर उकालो लाग्दै गर्दा पैरेमा एकहुल मानिस पैरोले बाटो पुरिएपछि बनाउँन व्यस्त रहेछन् । निकै कठिन र धुलाम्मे बाटो पार गर्दै हामी देउराली पुग्दा चिशंखुगढी गाउँपालिका वडा नम्बर–८ का अध्यक्ष शुशिलजंग कार्कीलगायतको टोली देउरालीमा लालिगुँरासका माला हातभरी लिएर लालिगुँरास जस्तै उज्यालो चेहरामा प्रतिक्षामा रहेछन् । देउरालीका बरका रुखमा कहिले बर टिपेर खाँदै त कहिले त्यहिँको माटोमा लडिबडी गर्दै बालापन विताउनु भएका पोखरेललाई देउरालीका परपिपल र त्यहाँको माटोले पनि स्वागत गरिरहेको जस्तो भान हुन्थ्यो ।

 

पोखरेल देउराली आइपुगेको मेसो पाएपछि बालसखा मिश्रिमाया सार्की मात्रै होइन सिताराम सार्की, काले सार्की, भोटे सार्की, खिरमान परियारहरु पनि देउरालीमै हँस्याङफस्याङ गर्दै आइपुगेपछि पोखरेल पनि उनीहरुसँग निकै मञ्जासँग बाल्यकालमा उकाली–ओराली गरेको, बरका रुखमा चढेर बर खाएको सबै सम्झिनुभयो । मिश्रिमायाले गम्भीर अस्वस्थताले आज होकि भोली हुनु भएका पोखरेलका पिताबारे बेलिबिस्तार लगाउँदा भावुक हुनुभयो । पोखरेलले दामलीका भुवाने सार्कीबारे पनि सोधिखोजी गर्नुभयो ।

देउरालीमै भेटिनु भएकी देवकुमारी राई पनि पोखरेलसँग केहीबेर गफिएपछि देउरालीबाट पोखरेलसहित हामी उहाँको जन्मघरतिर लाग्यौँ । अहिले पोखरेलको घरसम्म गाडी पुग्ने रहेछ । पोखरेल चढेको गाडी देउरालीबाट ओरालो झरेपछि मात्रै रत्नमाया खत्रीलाई पोखरेल आफ्नो जन्मघर आउँदैहुनुहुन्छ भन्ने मेसो भएछ । अकसमात् पोखरेल आउने जानकारीपछि रत्नमायाले रातो टिका मुछेर आँगनको डिलमा दुईवटा करुवामा पानी भरेर स्वागतका लागि तारतम्य मिलाउनु भएको रहेछ । पोखरेलले गाडीबाट ओर्लिने वित्तिकै फापरबासीसँगै रहेको केराको घारीले अलिकति छोपेको आफूले करीब १० वर्षसम्मको उमेर विताएको पुरानो शैलीको माटोको घर चोरी औँलाले देखाउँदै ऊ त्यहि हो मेरो जन्मघर भन्नुभयो । हामी केही पाइला अघि बढ्दै मात्रै थियौँ ।

रत्नमाया रातो टिका मुछ्दै गरेको थालीसहित फापरवारीमै हस्याँङफस्याँङ गर्दै आइपुग्नुभयो । पोखरेललाई रत्नमायाले टिका मुछ्दै गरेका हातले गाला सुमसुम्याउँदै विदेशबाट फर्किएको आफ्नो सन्तान भन्दा पनि बढी हर्षविभोर हुँदै स्वागत गर्नुभयो । घरको डिलमै रहनु भएका भक्तबहादुरले पनि नारायण भगवान भन्दै स्वागत गर्नुभयो । पोखरेल पनि आँगनबाट पिढीमा चड्नुभयो र पलङमा एकछिन सुस्ताउँदै लामो स्वास फेर्दै एकछिन फेरि बालापनमा हराउनुभयो । सँगै अर्को खाटमा बस्नुभएका स्थायी कमिटी सदस्य राई पनि पहिलो पटक आफ्नो नेताको जन्मघर आइपुग्दा निकै उत्साहित देखिनु भएको थियो ।

केहीबेरपछि पोखरेल घरभित्र छिर्नुभयो । बाल्यकालमा आमाले खाना पकाउने गरेको चुलो, मुलओछ्यान, अगेनु सबै नियाल्नुभयो । पहिला बुइकलमा उक्लिने लिस्नु त्यहि रहेछ । उहाँ भकारीले भएको बुइकलबाट बाहिर निस्किएर हात हल्लाउँदै केहीबेर मुस्कुराउनुभयो । साथमै रहनु भएका राई पनि पोखरेलसँगै लय मिलाएर बुइकलको बरण्डाबाट हात हल्लाएर ओर्लिनुभयो ।

पोखरेल करीब ८ वर्षको हुँदा २०१८ पुसमा उहाँको पिताजीको देहान्त भएको रहेछ । अन्तिम स्वास फेर्नु अघि राखिएको तुलसाको मठ अहिले जिर्ण बनेको रहेछ । उहाँ त्यहि तुलसाको मठमा पुगेर एकछिन टोलाउनुभयो । त्यसपछि तुलसाको मठ नजिकै उँभिएर पोखरेलले पिताजीसँगै आमाको पनि सम्झना गर्नुभयो । चालिस वर्ष भर्खर पूरा गर्नु भएकी उहाँकी आमाले घर–धन्धादेखि मेलापातका काम समेत भ्याउनै पर्ने बाध्यात्मक स्थिति थियो रे त्यतिबेला ।

खेतवारीमा बालीनाली लगाउने र उठाउने बेलामा केही केही खेताला खोज्नै पर्ने बाध्यता अनि त्यसको जोहो गर्न आमा प्रायः भालेको डाँकमा घरबाट निस्किनु हुँदोरहेछ । कतिपटक त विहानीपख आमालाई ओछ्यानमा नभेट्दा ‘आमा !, आमा !!’ भन्दै रोएको धुमिल सम्झना पनि पोखरेलले जन्मघरको माटोमा उँभिएर सम्झिनुभयो ।

करीब एक घण्टाजति त्यहाँ बस्दा रत्नमाया पनि खुशीले गदगद् हुनुभयो । उहाँले प्रधानमन्त्री बन्ने आशिष दिदैँ विदा गरेपछि पोखरेलसहित संस्थापक मुख्यमन्त्री राईले फापरबारीमा केही तस्बिरहरु खिच्नुभयो । भर्खरै एसइई दिएका रत्नमायाका नाती–नातिनाहरु पोखरेलसहित हामी गाडी चढ्ने ठाउँसम्म आउँदा पनि भिडियो तस्बिरहरु खिचिरहेका थिए भने रत्नमाया र भक्तबहादुर भने आफ्नो सन्तानलाई विदाई गरेको जस्तै भावविहल मुद्रामा हात हल्लाउँदै विदाई गरिरहनु भएको थियो ।

पिताजीको काजक्रिया सकेको केही वर्षपछि आफ्नो जन्मथलो माम्खाबाट जनकपुर झरेपछि पनि बेलाबखत गाउँ पुग्नु भएका पोखरेलले माम्खा छाड्ने बेलामा एक पटक घरभन्दा अलिक माथिको देविथान मन्दिर, पुरानो घर, बाल्यकाल विताएका बारीका काल्लाहरु सबैलाई नियाल्नुभयो र गाडी चढ्नुभयो । हामी पनि उहाँसँगै देउराली, पैरे ठोट्ने हुँदै फेरि रुम्जाटार तरेर ओखलढुंगातिर मोडियौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *