सञ्चारमन्त्री गुरुङले गरे सूचना प्रविधि सम्बद्ध निकायको पुनर्संरचना गर्ने निर्णय

काठमाडौं, ३१ असार । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गरेर सूचना प्रविधि सम्बद्ध निकायको पुनर्संरचना गर्ने निर्णय गर्नुभएकाे छ ।

मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले हस्तान्तरण गर्नुभएकाे उक्त प्रस्तावमा सञ्चारमन्त्री गुरुङले पदबहाली गर्दै पहिलो निर्णयका रुपमा उक्त निर्णय सदर गरर्नुभएकाे हाे ।

पदबहाली लगत्तै उहाँले पहिलो निर्णयबारे जानकारी दिँदै सञ्चारमन्त्री गुरुङले भन्नुभयाे, ‘राष्ट्रपतिले सम्बोधन गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा आएको विषय हो । सञ्चार सूचना तथा प्रविधिको प्रयोगका लागि कानूनी र संस्थागत विकास गर्न योजना रहेको र त्यसका लागि डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गर्ने तथा सूचना प्रविधि सम्बद्ध निकायको पुर्नसंरचना गर्ने निर्णयको फाइल सदर गरेको छु ।’

उहाँले भन्नुभयाे, ‘आज केही पनि बोल्दिन । पद बहाली गरेको दिन ठूलो ठूलो गर्ने तर काम केही नगर्ने जस्तो म गर्दैिन । नीतिगत र संस्थागत अध्ययन गरेर कुन काम यो मन्त्रालयका लागि आवश्यक हो कुन काम होइन, त्यो बुझेर मात्रै बोल्नेछु, गर्नेछु ।’