‘बीमाकर्ताले जुनसुकै उपचार केन्द्रमा उपचार गर्न पाउनुपर्छ’
काठमाडौँ, २६ भदौ । सांसद ऋषिकेश पोख्रेलले स्वास्थ्य बीमा भएका व्यक्तिले जुनसुकै स्वास्थ्य केन्द्रमा अनुकूलता अनुसार उपचार गर्न पाउने गरी व्यवस्था गर्नुपर्ने माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उहाँले स्वास्थ्य बीमामार्फत देशभरी उपचारमा संलग्न बिरामीलाई अनावश्यक दुःख दिने काम भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
“हरेक पालिकाको स्थास्थ्य केन्द्रमा गएका बिरामीले त्यहाँबाट अन्यत्र पठाईदिनुपर्यो भन्दै आएका छन, स्वास्थ्य बीमाका कारण अहिले हजारौँ जनताले दुःख पाइरहेका छन्, यसतर्फ सरकारको ध्यान जान जरुरी छ”, सांसद पोख्रेलले भन्नुभयो ।
सांसद हितराज पाण्डे र मनिष झाले पूर्वसभामुख स्व सुवाषचन्द्र नेम्वाङले संविधान निर्माणका क्रममा पुर्याउनुभएको योगदानबारे संसदमा स्मरण गर्नुभयो ।