उत्तरी गोरखाको नुब्री भ्यालीमा अहिलेसम्मकै धेरै हिमपात

गोरखा,५ फागुन । उत्तरी गोरखाको नुब्री भ्यालीमा फेरि भारी हिमपात भएको छ। स्थानीयवासी निमा लामाका अनुसार गए रातिदेखि यस वर्षको हिउँदमा अहिलेसम्मकै धेरै हिउँ परेको छ।

“लामो समयको खडेरीपछि गए रातिदेखि दोस्रो पटक हिउँ परेको हो, दुई दिनअघि सामान्य हिउँ परेको भए पनि अहिले परेको हिउँ यस सिजनकै सबैभन्दा ठूलो हिमपात हो।”

नुब्री भ्याली भनेर चिनिने उत्तरी गोरखाको सबैभन्दा उत्तरी गाउँ साम्दोदेखि सामागाउँ र स्यालासम्म हिउँ परेको लामाले बताए। मध्यरात १२ बजेदेखि लगातार हिउँ परिरहेको छ। साम्दोमा जमिनमाथि करिब एक फिटसम्म हिउँ जमेको छ भने स्यालासम्म हिउँ परेको छ।

भारी हिमपातका कारण नुब्री भ्याली, सामागाउँ र स्याला क्षेत्रका स्थानीयको जनजीवन प्रभावित भएको छ। लामाले टेलिफोन र इन्टरनेट सेवामा समेत समस्या भएको जानकारी दिए।
“सौर्य ऊर्जाबाट चल्ने टेलिफोन र इन्टरनेट सेवा कहिले आउने, कहिले जाने भइरहेको छ,” उनले भने, “हिउँ पर्न नरोकिएसम्म सबै सेवा प्रभावित हुने देखिन्छ।” हिमपातका कारण शनिबार साँझ उक्त क्षेत्रमा पुगेका स्वदेशी तथा विदेशी पर्यटकसमेत समस्यामा परेको पथप्रदर्शक सूर्य खनालले जानकारी दिए।

“पर्यटकलाई लिएर लार्केपास जान सक्ने अवस्था छैन,” उनले भने, “हामी पर्यटकसहित साम्दोको एउटा होटलमा आश्रय लिएर बसिरहेका छौँ।” मनास्लु पदमार्गको उक्त क्षेत्र भएर मनास्लु हिमाल आरोहण गर्ने र लार्केपास हुँदै मनाङ जाने पर्यटकहरू प्रभावित भएका छन्।

लामो समयपछि हिमपात सुरु भएपछि स्थानीयवासी भने खुसी भएका छन्। हिउँले जीवनयापनमा केही कठिनाइ भए पनि अन्नबाली उत्पादन राम्रो हुने भएकाले उनीहरू खुसी भएका हुन्। स्याला क्षेत्रका स्थानीय किसानले यसअघि नै करु रोपेका थिए, तर उम्रन पाएका थिएनन्। यो हिमपातले करुखेती राम्रो हुने भएकाले उनीहरू उत्साहित छन्।

त्यसैगरी, सामागाउँ र साम्दोमा अबको एक महिनापछि खेतीपाती सुरु हुने भएकाले हिउँले जमिन खुकुलो हुने र खेती गर्न सहज हुने लामाले बताए। सामागाउँ र साम्दोमा करु, जौ, आलु, फापर र चरुको खेती गरिन्छ। चुमभ्यालीतर्फ भने मौसम सामान्य रहेको र अवस्था सामान्य रहेको स्थानीयले बताएका छन्।