जलेश्वरनाथ मन्दिर महाशिवरात्रि लागि सिँगारियो, दुई लाख भक्तजन आउने अनुमान

महोत्तरी, १३ फागुन ।  महोत्तरी जिल्लाको जलेश्वरनाथ महादेव मन्दिरमा महाशिवरात्रिको लागि भव्य तयारी गरिएको छ।

महाशिवरात्रि पूजा समारोह समितिका अध्यक्ष जितेन्द्र साहका अनुसार यस पटक विशेष व्यवस्था मिलाइएको छ।

जमिनको सतहदेखि १६ सिँढी मुनि २४ घण्टा जलभित्र रहने महादेवको दर्शनका लागि मन्दिर परिसर रङ्गरोगन गरिएको छ, रङ्गीचङ्गी तोरन लगाइएको छ र आकर्षक बिजुलीबत्ती जडान गरिएको छ।

मुख्य पुजारी उपेन्द्र पाठकका अनुसार यहाँ चोखो मनले आउने भक्तजनले बाबालाई मनको दृष्टिले प्रत्यक्ष दर्शन गर्न सक्छन्। महाशिवरात्रिमा राति १२ बजेपछि विशेष पूजा गरेर सर्वसाधारणका लागि मन्दिर खुल्ला गरिन्छ। मन्दिरभित्र करिब २० फिटमुनि जलमा बास बसेका महादेवको दर्शनका लागि यसपटक विभिन्न व्यवस्थाहरु गरिएको छ।

वर्तमान पुजारी कामेश्वर पाठकका अनुसार चोखो मनले भाकल गर्नेको मनोकामना अवश्य पूरा हुन्छ। मन्दिरमा महाशिवरात्रि, साउन महिनाको प्रत्येक सोमबार र प्रत्येक महिनाको पहिलो सोमबार विशेष मेला लाग्ने गर्दछ।

जलेश्वरनाथ महादेवको ख्याति महोत्तरी, धनुषा, सिरहा, सर्लाही, सिन्धुलीसहित भारतका विभिन्न सहरमा पनि रहेको छ र ती स्थानबाट ठूलो सङ्ख्यामा भक्तजन आउने गर्दछन्। यस वर्ष दुई लाखभन्दा बढी भक्तजनले दर्शन गर्ने अनुमान गरिएको छ।

जिल्लाका अन्य महादेव मन्दिरहरूमा पनि महाशिवरात्रिको लागि भव्य तयारी गरिएको छ। जिल्लाको चार कुनामा रहेका चारवटै महादेव मन्दिरमा महाशिवरात्रिमा भव्य रुपमा पूजा हुने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *