सिस्नोको कपडा बुनेर स्वरोजगार बन्दै मकवानपुरका महिला
मकवानपुर, २० फागुन ।मकवानपुर जिल्लाको थाहा नगरपालिका, दामनका महिलाहरू स्वरोजगार बन्ने उद्देश्यले अल्लोको कपडा बनाउन थालेका छन्। जताततै पाइने अल्लोको पातबाट कपडा बुन्ने काममा यहाँका स्थानीय महिलाहरू वार्षिक कार्यतालिका बनाएर व्यस्त छन्।
तरकारीको मौसम सकिएपछि महिलाहरू वनमा गएर अल्लो ल्याउने र त्यसको पातबाट धागो बनाई कपडा बुन्न व्यस्त हुन्छन्। अहिले यहाँका महिलाहरू अल्लोको पात निकाल्न र धागो तथा कपडा बुन्न अन्य जिल्लामा समेत तालिम दिन जान थालेका छन्।
लामो समयदेखि अल्लोको कपडा बनाउने तालिम लिएर काम गरिरहेकी थाहा नगरपालिकाकी रेश्मा गोपालीले केही वर्षअघि दामन महिला अल्लो ह्याण्डीक्राफ्ट उद्योग दर्ता गरी समूहमा काम सुरु गरेको बताइन्।
थाहा नगरपालिका तरकारी खेतीका लागि पकेट क्षेत्र मानिन्छ। जग्गा हुनेहरूका लागि खेतीपाती राम्रो भए पनि जग्गा नहुने वा थोरै हुनेहरूका लागि आम्दानीको स्रोत खोज्न गाह्रो हुने भएकाले व्यावसायिक रूपमा अल्लोको कपडा उत्पादन सुरु गरेको उनले जानकारी दिइन्।
करिब ४० वर्षीया गोपालीले आफ्नो सम्पूर्ण शक्ति अल्लोको उद्यममा लगाउने प्रयास गरिरहेको बताउँदै सुरुवाती दिनमा निकै सङ्घर्ष गर्नुपरेको अनुभव सुनाइन्। “खेती गर्न धेरै जग्गा छैन, जागिर पनि भनेजस्तो नपाएपछि वनमा पाइने सिस्नो जस्तै अल्लोको पाटबाट कपडा बनाएर बेच्ने सपना देखेँ र तालिम लिएँ,” उनले भनिन्। उनले सहयोग पाएमा स्थानीय अल्लोलाई एउटा उचाइमा पुर्याउने योजना रहेको बताइन्।
“सिस्नो खाँदा स्वास्थ्यलाई फाइदा हुन्छ भन्ने धेरैलाई थाहा छ, तर सिस्नोबाट बनेको कपडा लगाउँदा पनि फाइदा हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ। वनमा छ्याप्पछ्याप्ती पाइने सिस्नो प्रजातिको अल्लोबाट कपडा बनाउने व्यवसाय सुरु गरेका छौँ। यसबाट लुगा मात्र नभई मोजा र जुत्तासमेत बनाउन सकिन्छ,” गोपालीले भनिन्।
स्थानीय कोपिला गोपालीले पनि स्वरोजगारका लागि समूहमा बसेर अल्लोको कपडा उत्पादनमा लागेको बताइन्। उनको समूह अहिले जङ्गलमा पाइने सिस्नो प्रजातिको अल्लो टिप्न, चुट्न र कपडा बुन्न व्यस्त छ। वर्षमा तीन महिना खेतीपाती र बाँकी समय कपडा बुन्नमा खर्चिने उनको भनाइ छ।
कोपिलाका अनुसार तीन किलो धागोबाट १० देखि १२ मिटरसम्म कपडा तयार हुन्छ। बढ्दो बजारको मागलाई पूरा गर्न अझ बढी मेहनत गर्नुपर्ने उनको भनाइ छ।
अहिले मागअनुसारको उत्पादनका लागि जनशक्ति कम रहेको कोपिलाले बताइन्। “कपडा बनाउन जति सजिलो छ, धागो कात्न गाह्रो छ। अल्लोबाट धागो बनाउन जङ्गलबाट काँचो लाथ्रा ल्याउनुपर्छ,” उनले भनिन्।
पात निकालेपछि सुकाएर ठूलो फलामे कराईमा पकाउने र त्यसपछि फेरि कमेरो माटोमा चोपेर सुकेको पात खोलामा लगेर दोहोर्याएर चुट्नुपर्ने उनले जानकारी दिइन्। “यसपछि मात्र धागोको कच्चा पदार्थ तयार हुन्छ, जसलाई चर्खाको सहायताले धागो निकालिन्छ,” उनले भनिन्।
विसं २०६६ देखि दर्ता भएर सञ्चालन भइरहेको यो उद्योगलाई स्थानीय सरकार र ग्रिन फाउण्डेशन नेपालको सहकार्यमा स्तरोन्नति गर्ने योजना रहेको थाहा–३ का वडाध्यक्ष हीरेन्द्र रायमाझीले जानकारी दिए। उनका अनुसार उद्योगमा उत्पादन बढाउनका लागि थप तालिम र भौतिक सहयोगसमेत गर्ने योजना छ।
यो समूहले ऋषेश्वर सामुदायिक वनमा पाइने अल्लोलाई प्रशोधन गरी बजारमा रुचाइएका आकर्षक डिजाइनका कपडा बनाएर विदेशीहरूका लागि कोसेलीदेखि मेला महोत्सवमा प्रदर्शनमा राख्ने गरेको रायमाझीले बताए।
ऋषेश्वर सामुदायिक वनको सक्रियतामा समूहका महिलाले अल्लोबाट कपडा बुन्ने सीप पाएका हुन्। सबैको सहयोगमा नमुना उत्पादन थालेका महिलाले अहिले व्यावसायिक रूपमा कपडा उत्पादन गरिरहेका छन्।
वनमा आधारित उद्यम विकासका लागि लागिरहेको संस्था ग्रिन फाउण्डेशन नेपालले उद्यमको स्तरीकरण र बजारीकरणमा सहयोग गरिरहेको संस्थाकी कोषाध्यक्ष आरती पाठकले जानकारी दिइन्। “हामीले महिलालाई क्षमता विकासको तालिम मात्र दिएर विकास नहुने रहेछ, त्यसैले आर्थिक अवस्था सुधार गर्न आवश्यक देखियो। त्यसैले महिलालाई उद्यम विकासको अभियान चलाएका हौँ,” उनले भनिन्।
वनमा आधारित उद्यमबाट महिलालाई उद्यमी बनाउन निरन्तर प्रयास गरिरहेको उनले जानकारी दिइन्। यसका लागि आर्थिक स्रोत र इच्छाशक्तिको आवश्यकता पर्ने उनले बताइन्। मकवानपुरमा वनमा आधारित ६ वटा उद्यमका लागि प्रत्यक्ष र ३७ वटा उद्यमका लागि अप्रत्यक्ष रूपमा सहयोग गरिरहेको उनले जानकारी दिइन्।
अल्लोको कपडा उत्पादनले थाहाका स्थानीय महिलाहरू स्वरोजगार बन्नुका साथै आम्दानी पनि बढिरहेको छ। औद्योगिक व्यापार मेला, पर्यटकीय क्षेत्रका पसल तथा स्थानीय क्षेत्रमा अल्लोको कपडाको राम्रो बजार छ।