बेंगलुरुमा ‘ककरोच जनता पार्टी’को प्रदर्शनमा प्रहरीको रोक, सामाजिक सञ्जालमा सन्देश नफैलाउन चेतावनी
एजेन्सी, ९ जेठ । भारतको बेंगलुरु प्रहरीले एक व्यङ्ग्यात्मक अनलाइन समूह ‘ककरोच जनता पार्टी’ (Cockroach Janata Party) द्वारा घोषणा गरिएको विरोध प्रदर्शनमा रोक लगाएको छ । सहरको टाउन हल नजिकै आयोजना गर्न खोजिएको ‘शान्तिपूर्ण मानव साङ्लो’ प्रदर्शनका लागि भेला नहुन प्रहरीले सर्वसाधारणलाई कडा चेतावनी दिएको हो ।
सामाजिक सञ्जालमा यो समूहले एक पोस्टर सार्वजनिक गर्दै आइतबार टाउन हलमा भेला हुन र आफ्नो शक्ति प्रदर्शन गर्न आह्वान गरेपछि प्रहरीले यस्तो कदम चालेको हो । पोस्टरमा भनिएको थियो, “सबै साङ्ला (ककरोच) हरू र ककरोच जनता पार्टीका समर्थकहरू, प्रशासनलाई सन्देश दिन हामीसँग जोडिनुहोस् । अब केवल अनलाइन होइन, सडकमा शक्ति देखाउने समय आएको छ ।”
बेंगलुरु प्रहरीले एक विज्ञप्ति जारी गर्दै उक्त प्रदर्शनका लागि कसैले पनि पूर्वअनुमति नलिएको स्पष्ट पारेको छ । प्रहरीका अनुसार उच्च अदालतको आदेशबमोजिम बेंगलुरुमा कुनै पनि प्रदर्शनहरू केवल ‘फ्रीडम पार्क’ मा मात्र गर्न पाइने व्यवस्था छ । त्यसैले सडक वा टाउन हल क्षेत्रमा यस्तो कार्यक्रम गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।
प्रहरीले फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम र एक्स जस्ता सामाजिक सञ्जालमा प्रदर्शनसम्बन्धी भ्रमपूर्ण सन्देशहरू नफैलाउन र सेयर नगर्न समेत सर्वसाधारणलाई आग्रह गरेको छ ।
के हो ‘ककरोच जनता पार्टी’ ?
यो समूह आम आदमी पार्टीका पूर्व राजनीतिक रणनीतिकार अभिजित दिपकेद्वारा १६ मे मा सुरु गरिएको एक व्यङ्ग्यात्मक राजनीतिक आन्दोलन हो । भारतका प्रधानन्यायाधीश सूर्यकान्तले एक प्रसङ्गमा बेरोजगार भारतीय युवाहरूलाई “साङ्ला” भनेको भनी सञ्चारमाध्यममा आएको टिप्पणीको प्रतिवादस्वरूप यो समूह बनाइएको थियो । यद्यपि, प्रधानन्यायाधीशले पछि आफूलाई गलत रूपमा उद्धृत गरिएको भन्दै स्पष्टीकरण दिइसकेका छन् ।