तनहुँमा सवारी दुर्घटना बढ्दो, नौ महिनामा ४८ को ज्यान गयो

तनहुँ, १२ चैत । तनहुँ जिल्लामा सवारी दुर्घटनाको संख्या बढ्दो क्रममा देखिएको छ। चालु आर्थिक वर्षको नौ महिनामा मात्रै ४८ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार फागुनसम्ममा भएका ४४ वटा दुर्घटनामा परी उनीहरुको मृत्यु भएको हो। दुर्घटनामा परी ८१ जना घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी प्रमुख कृष्णबहादुर चन्दले दिएको जानकारी अनुसार मृत्यु हुनेहरुमा २४ जना पुरुष, २० जना महिला र ४ जना बालबालिका रहेका छन्। साउन महिनामा दुर्घटनाबाट कसैको ज्यान नगएको भए पनि भदौमा २९ जनाको मृत्यु भएको थियो।

त्यसपछि असोजमा ४, कात्तिकमा २, मंसिरमा १, पुसमा २, माघमा ८, फागुनमा १ र चैत १० गतेसम्म १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

यसै अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने २४ हजार ६ सय ४१ सवारी साधनलाई कारबाही गरी २ करोड ३ लाख ४० हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ। नियम उल्लंघन गर्ने ट्रक, टिपर, बस, जीप, मोटरसाइकल र स्कुटर लगायतका सवारी साधनलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

तीव्र गतिमा सवारी चलाउनेहरुलाई राडरगनको प्रयोग गरी अनुगमन गर्ने र कारबाही गर्ने गरिएको चन्दले बताए।