तीन निर्माण कम्पनी कालोसूचीमा, सार्वजनिक खरिदमा प्रतिबन्ध

काठमाडौं, ८ जेठ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसार काम सम्पन्न नगर्ने तीनवटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।

कार्यालयले सोमबार एक सूचना प्रकाशित गर्दै विभिन्न सरकारी निकायको सिफारिसमा ती कम्पनीहरूलाई निश्चित अवधिका लागि कालोसूचीमा राखिएको जनाएको हो।

कालोसूचीमा पर्नेमा बाँकेको डडुवा गाउँपालिका–५ स्थित यज्ञश्वरी निर्माण सेवा र त्यसका सञ्चालक बिना बिसी रहेका छन्। उनीहरुलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको हो।
त्यसैगरी, काठमाडौं महानगरपालिका–१४ ठेगाना भएको एसियन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कन्सल्टेन्सी र त्यसका मुख्य व्यक्तिहरू अनिल ढुंगाना तथा खेमराज आचार्यलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ।

सल्यानको लेखपोखरा–६ मा रहेको तुलसी निर्माण सेवा र त्यसका सञ्चालक पूर्णबहादुर भण्डारीलाई पनि एक वर्षको लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।
सार्वजनिक निकायबाट निर्माण वा आपूर्तिको ठेक्का लिएर सम्झौता बमोजिम काम नगर्ने कम्पनीलाई सम्बन्धित निकायले कालोसूचीमा राख्न सिफारिस गर्न सक्ने प्रावधान छ।

कालोसूचीमा परेका यी निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले तोकिएको अवधिसम्म कुनै पनि सार्वजनिक निकायको खरिद कार्यमा भाग लिन पाउने छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *