भिजिट भिसा प्रकरण छानबिन गर्न पूर्वमुख्यसचिव वैरागीको नेतृत्वमा उच्चस्तरीय समिति गठन
काठमाडौं, १० असार । भिजिट भिसाको दुरुपयोग गरी नेपाली नागरिकलाई विदेश पठाउने विवादास्पद प्रकरणको छानबिन गर्न सरकारले उच्चस्तरीय समिति गठन गरेको छ।
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो।
समितिमा गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुष्कर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ तथा परराष्ट्र मन्त्रालयका सचिव अमृतकुमार राई सदस्यका रूपमा रहेका छन्।
समितिलाई यस प्रकरणको गहिराइमा पुगेर अध्ययन गर्न र तीन महिनाभित्र विस्तृत प्रतिवेदन सरकारलाई बुझाउन कार्यादेश दिइएको छ।
पछिल्लो समय प्रमुख प्रतिपक्षी दलले गृहमन्त्रीको राजीनामा माग गर्दै संसदमा लगातार विरोध र अवरोध गर्दै आएको थियो। प्रमुख प्रतिपक्षी दलसँगको सहमति अनुसार सरकारले छानबिन समिति गठन गरेको हो।