शेयर बजारमा साढे दुई महिनापछि नेप्से २७०० विन्दुमाथि

काठमाडाैं, १९ असार । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार परिसूचक (नेप्से) ले महत्वपूर्ण मनोवैज्ञानिक तह पार गर्दै साढे दुई महिनापछि २७०० विन्दुमाथि बन्द भएको छ ।

बजारमा सामान्य अङ्कको सुधार देखिए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही खुम्चिएको छ ।

बिहीबार नेप्से ९.१४ अङ्कले बढेर २७०३.९६ विन्दुमा रोकिएको हो । यसअघि गत वैशाख ७ गते नेप्सेले यो विन्दु पार गरेको थियो । परिसूचक बढे पनि कारोबार रकम भने बुधबारको ९ अर्ब ७४ करोडबाट घटेर बिहीबार ९ अर्ब ६४ करोड रुपैयाँमा सीमित रह्यो ।

बिहीबारको बजारमा नेपाल फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर (सकारात्मक सर्किट) प्रतिकित्ता ६९४ रुपैयाँ २० पैसा पुगेको छ । त्यसैगरी, खानीखोला हाइड्रोपावर र समृद्धि फाइनान्सको शेयरमूल्य पनि ७ प्रतिशतभन्दा बढीले उकालो लागेको छ । यसको ठीकविपरीत, सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक १० प्रतिशत गुमाएका छन् ।

कारोबार रकमका आधारमा बुटवल पावर कम्पनी (बीपीसी) अग्रस्थानमा रह्यो । बीपीसीको ३१ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भयो । त्यसपछि साहस ऊर्जाले २७ करोड र सप्तकोशी डेभलपमेन्ट बैंकले २६ करोडभन्दा बढीको कारोबार गरे ।

बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये ८ वटा हरियाली छाउँदा ५ वटा भने राताम्य देखिए । वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.०९ प्रतिशतले बढ्यो भने जीवन बीमा र निर्जीवन बीमा समूहमा पनि २ प्रतिशतभन्दा बढीको आकर्षक वृद्धि देखियो । यता, व्यापार उपसमूह भने सर्वाधिक १.२९ प्रतिशतले घट्यो ।