शेयर बजारमा पुनः उत्साह, नेप्से २४ अङ्कले बढ्दा ७ अर्ब ४५ करोडको कारोबार
काठमाडौँ, २५ असार । लगातार दुई दिनको सामान्य गिरावटपछि साताको चौथो कारोबार दिन बुधबार शेयर बजारमा पुनः उत्साह फर्किएको छ। बजार परिसूचक नेप्से २३.९९ अङ्कले वृद्धि हुँदै २७०७.८५ विन्दुमा पुगेर बन्द भएको छ।
बुधबार दिनभरको कारोबारमा ७ अर्ब ४५ करोड १८ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भयो। कुल २४८ कम्पनीका १ करोड ५८ लाख २२ हजार कित्ताभन्दा बढी सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ।
बजारको सकारात्मक वृद्धिलाई कारोबारमा आएका कम्पनीहरूले पनि साथ दिएका छन्। आज कारोबार भएकामध्ये १९९ कम्पनीको सेयर मूल्य बढ्दा ४९ वटाको मात्रै घटेको छ।
सबैभन्दा बढी कमाउनेमा वरुण हाइड्रोपावर रह्यो, जसको सेयर मूल्यमा ६.२१ प्रतिशतको उछाल देखियो।
कारोबार रकमका आधारमा राधी विद्युत् कम्पनीले अग्रता कायम गर्यो। कम्पनीको ४६ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भयो। त्यसपछि बुटवल पावर कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे। यो सुधारले लगानीकर्तामा आशा जगाएको छ।