तीन दिनको वृद्धिमा लाग्यो ‘ब्रेक’, नेप्सेमा भारी गिरावट, कारोबार रकम पनि खुम्चियो
काठमाडौँ, ३० असार । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा तीन दिनदेखिको सकारात्मक यात्रा टुङ्गिएको छ । बैंकिङ्ग समूहमा आएको भारी बिक्री चापले गर्दा नेप्से परिसूचक र कारोबार रकम दुवैमा उल्लेख्य गिरावट आएको हो ।
सोमबार, नेप्से परिसूचक ३५.०९ अंकले घटेर २०८५.७१ विन्दुमा झरेको छ । त्यस्तै, ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स ६.८३ अंक र फ्लोट इण्डेक्स २.६८ अंकले घटेको छ ।
नेप्से सूचकसँगै कारोबार रकम पनि खुम्चिएको छ । अघिल्लो दिन आइतबार करिब साढे ११ अर्ब रुपैयाँको कारोबार भएको बजारमा आज ३२१ कम्पनीको ७२ हजार पटकको कारोबारमा जम्मा ८ अर्ब १७ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भयो ।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये जलविद्युत उपसमूह ०.१५ प्रतिशतले बढ्नुबाहेक अन्य सबै उपसमूहको सूचक राताम्मे भयो । बजारलाई ओरालो लगाउन मुख्य भूमिका खेलेको बैंकिङ्ग उपसमूहको सूचक सर्वाधिक २.४६ प्रतिशतले घटेको छ । यसैगरी, विकास बैंक, वित्त, लगानी, जीवन बीमा, र लघुवित्त समूहको सूचक पनि १ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।
बजार घटेपनि माई खोला हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ५.९० प्रतिशतले बढेको छ । यता, सामुदायिक लघुवित्तको सेयरमूल्यमा भने ४.४६ प्रतिशतको गिरावट देखियो ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले ४० करोड ८८ लाख रुपैयाँ सहित शीर्ष स्थान कायम गर्यो । त्यसैगरी, बुटवल पावर कम्पनी र सानिमा बैंकको पनि उच्च कारोबार भयो ।