नेप्सेमा लगातार पाँचौं दिनको वृद्धि, कारोबार रकम १६ अर्ब ३२ करोड

काठमाडौं, ६ साउन । शेयर बजारमा लगातार पाँचौं कारोबार दिन पनि सकारात्मक गति देखिएको छ। साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.७६ अंकले बढेर २,८९२.७२ विन्दुमा पुगेको हाे।

बजारको सूचक बढे पनि कारोबार रकममा भने आइतबारको तुलनामा गिरावट आएको छ। आइतबार करिब साढे २१ अर्ब रुपैयाँको शेयर कारोबार भएकोमा सोमबार रकम घटेर १६ अर्ब ३२ करोड रुपैयाँमा सीमित भएको छ। यसले बजार बढिरहँदा पनि लगानीकर्ताहरू केही सतर्क भएको संकेत गर्दछ।

सोमबार ३११ कम्पनीका ३ करोड ५६ लाख कित्ता शेयर १ लाख ३८ हजार पटकभन्दा बढी किनबेच भएका थिए। बजारमा थ्री स्टार हाइड्रोपावर, ट्रेड टावर र सान्भी इनर्जीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। उता, ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनीले अग्रता लिएको छ, जसको ७५ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भयो। त्यसैगरी, हिमालयन रि-इन्स्योरेन्सको पनि ७५ करोडभन्दा बढीको कारोबार भएको छ।

आज कारोबारमा आएका सबै १३ वटै उपसमूहको परिसूचक हरियो देखिएको छ, जसमा लघुवित्त उपसमूह सर्वाधिक १.९३ प्रतिशतले बढेको छ।