सेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम भने १८ अर्ब ४९ करोड नाघ्यो
काठमाडौँ, ८ साउन । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) मा सामान्य वृद्धि देखिएको छ ।
आज बजार परिसूचक ४.४८ अङ्कले बढेर २९८३.३६ को विन्दुमा पुगेको हाे ।
सूचकमा सामान्य सुधार भए पनि कारोबार रकम भने उत्साहजनक रह्यो । दिनभरमा कुल २३८ कम्पनीको ३ करोड ८९ लाख कित्ताभन्दा बढी सेयर १८ अर्ब ४९ करोड ४ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भयो ।
यद्यपि, बजार परिसूचक बढे पनि घट्ने कम्पनीको संख्या धेरै रह्यो । कारोबारमा आएकामध्ये १२७ कम्पनीको सेयर मूल्य घट्दा १२३ कम्पनीको मूल्यमा मात्र वृद्धि भयो ।
कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी ७७ करोड २१ लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दै शीर्ष स्थानमा रह्यो । आज गुडविल ग्रीन भेञ्चर, ट्रेड टावर, सान्भी इनर्जी र स्वेतगंगा हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।