भूमिसम्बन्धी विधेयक बहुमतले पारित

काठमाडौँ, ५ भदौ । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमिसम्बन्धी विधेयक बहुमतले पारित गरेको छ ।

प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट बिहीबार भूमिसम्बन्धी विधेयक पारित भएको हो ।

समितिको बिहीबार बसेको बैठकमा माओवादी र रास्वपाका सांसदहरूले विधेयकका केही प्रावधानमाथि आफ्नो धारणा स्पष्ट गर्न र फरक मत तयार पार्न थप समय माग गरेका थिए । तर, समितिले बहुमतको प्रक्रियाबाट विधेयकलाई अघि बढाउने निर्णय गरेपछि उनीहरू बैठकबाट बाहिरिएका हुन् ।

समितिले भने उनीहरूलाई शुक्रबारसम्म आफ्नो फरक मत लिखित रूपमा पेस गर्न समय दिएको छ । फरक मतसहितको प्रतिवेदन अब प्रतिनिधिसभाको पूर्ण बैठकमा पेस हुने समितिका सचिव शिवदत्त बरालले जानकारी दिनुभयो ।