भाटभटेनीको क्षतिको विवरण प्रधानमन्त्रीलाई, २० वटा स्टोरमा १० अर्ब ८५ करोड ६७ लाख क्षति

काठमाडौं, ७ असाेज । जेनजी आन्दोलनका क्रममा भएकाे भदौ २४ गतेकाे आगजनी र लुटपाटका कारण काठमाडौंसहित देशभर भाटभटेनीकाे क्षतिको विवरण प्रधानमन्त्री सुशिला कार्कीसमक्ष बुझाएको छ ।

भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले मंगलबार प्रधानमन्त्री कार्कीलाई भेटेर आगजनी र तोडफोडबाट भाटभटेनी सुपरस्टोरका २० वटा स्टोरमा गरी १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८५४ रुपैयाँ बराबरको क्षति भएको बताएका छन् ।

बालुवाटारस्थित मुख्य स्टोरसहित १२ वटा स्टोर पूर्णरुपमा आगजनी भएको छ । १२ वटा भवनसहित त्यसभित्र रहेका सम्पूर्ण सामग्री जलाइएको छ । स्केलेटर, लिफ्ट, फ्रिजलगायतका महंगा सामग्री पनि भवनसँगै जलेर नष्ट भएका थिए । भवनभित्र रहेका सामग्री लुटपाटपछि पूर्णरुपमा आगजनी गरिएको थियो ।

त्यसबाहेक नौ वटा स्टोरमा तोडफोड र लुटपाट गरिएको छ । नौवटा स्टोरमा आंशिक क्षति पुगेको भाटभटेनीले जनाएको छ । उनले भाटभटेनीमा कार्यरत दश हजार बढी कर्मचारीलाई बिदा नगर्ने योजना रहेको बताउँदै दसैं बोनस पनि पूरा महिनाको प्रदान गर्ने जनाएका थिए ।

‘सबै स्टोरमा गरी भाटभटेनीमा १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८५४ रुपैयाँको क्षति भएको छ’, गुरुङले भने ।

प्रधानमन्त्रीसँगको भेटमा गुरुङले राज्यले चाहेमा आफूले आधा सम्पत्ति प्रदान गर्न तयार रहेको पटक पटक प्रतिवद्धता जनाउँदा पनि भाटभटेनीमाथि नै ‘टार्गेट’ गरिएको बताएका थिए ।