लुटिएका हतियार फिर्ता ल्याउने र दलहरुको विश्वास जित्ने अवस्थामा मात्रै निर्वाचन हुन्छः शंकर पोखरेल

काठमाडौं, असोज २३। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अहिलेका गृहमन्त्रीले प्रतिशोधको परम्पराको सुरुवात गरेको आरोप लगाउनु भयो । भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो आरोप लगाउनु भएको हो ।

उहाँले नेपाली समाजले चाहेको शान्ति, सुरक्षा र अमनचयन हो भन्दै भदौ २३, २४ गते भएको घटनाले त्यसमा अवरोध गरेको उल्लेख गर्नुभयो । मुलुकको अस्मितामा धावा बोलेर मुलुकको समृद्धि अघि बढ्न नसक्ने पनि उहाँले दाबी गर्नुभयो ।

‘सामाजिक सञ्जालमा फेक आइडीमार्फत नवयुवालाई दिग्भ्रमित बनाएर मुलुकको अस्मितामाथि धावा बोल्ने काम भएको छ,’ उहाँले भन्नुभयो, ‘तर अहिले गठन भएको छानविन समितिले निष्पक्ष छानविन गर्न सक्दैनन् । गृहमन्त्री पनि पूर्वाग्रही भएर काम गरिरहेका छन् । ठूलो संख्यामा हातहतियार लुटिएका छन् । गृहमन्त्रीको त्यहाँ ध्यान छैन । तर, निवर्तमान प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गर्ने आदेश दिन्छन् । त्यसैले उनले राज्य चलाउन जानेका छैनन् भन्ने प्रमाणित हुन्छ ।’

उहाँले अन्तरिम सरकार नागरिकको कर्तव्यबाट विमूख भएको पनि आरोप लगाउनुभयो । उहाँले निर्वाचन गर्ने हो भने सबै भन्दा पहिला लुटिएका हतियार फिर्ता ल्याउने योजना बनाउनु पर्नेमा जोड दिनुभयो । तर, अहिलेका प्रधानमन्त्र िर गृहमन्त्रीको ध्यान त्यसमा नगएको उहाँको आरोप छ ।

उहाँले दलहरुलाई विश्वासमा नलिने हो भने चुनावको वातावरण नबन्ने पनि ठोकुवा गर्नुभयो । त्योसँगै सुरक्षाको मनोवल बढाउने कुरा पनि अनिवार्य शर्त हुनुपर्ने उहाँको भनाई छ । अहिलेको अन्तरिम सरकारले अँध्यारो कोठामा बसेर ज्ञानेन्द्र शैलीमा निर्वाचन गर्ने खेलमा लागेको पनि उहाँले आरोप लगाउनुभयो । उहाँले २३ गतेको घटनामा पार्टी अध्यक्ष केपी ओलीले नै बानेश्वरमा गएर हतियार चलाएकोजस्तो कुप्रचार गरिरहेको टिप्पणी पनि गर्नुभयो ।