जेनजी आन्दोनलमा प्रहरीसंग लुटिएका ८ सय बढी हतियार कहाँ पुग्यो ?

काठमाडौं, २३ असोज । जेन–जी आन्दोलनको क्रममा प्रहरीसंग लुटिएका ८ सय भन्दा बढी हतियार अझै फेला पर्न सकेका छैनन् ।

भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शनको क्रममा प्रहरीका साना ठूला गरी ११ सय भन्दा बढी हतियार लुटपाट भएको थियो । ती हतियार अझै फेला पर्न नसकेको प्रहरीले जनाएको छ ।

प्रदर्शनको क्रममा प्रहरी कार्यालय तोडफोड र आगजनी गर्दै हतियार लुटेको तस्बिर, भिडिओमा समेत देखिएपनि तीमध्ये तीन सय हतियार सुरक्षा निकायले बरामद गरेका छन् । तर अझै ८ सय भन्दा बढी हतियार फेला नपरेका प्रहरी प्रधान कार्यालयका अधिकृतहरु बताउँछन् ।

हतियार खोज्नका लागि समिति नै बनाएर अहिले काम भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताए ।

प्रहरीका हतियार अहिलेसम्म गायब हुँदा सुरक्षा चुनौती बढ्दो छ भने यता सुरक्षाकर्मी भने हतियारविहीन हुनुपर्ने अवस्था छ ।

लुटिएकामध्ये केही हतियार नेपाली सेनाले बरामद गरेको थियो । केही हतियार तथा पेस्तोलसहित प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेपनि अझै ठूलो संख्यामा हतियार गायब रहेको जनाइएको छ ।

प्रदर्शनको क्रममा आन्दोलनकारीले प्रहरीका हतियार, बर्दी र अन्य सुरक्षाका सामग्री बोकेर हिँडेका थिए ।