शितल निवासमा राजनीतिक संवाद

राजनीतिक संवाद सुरु : राष्ट्रपतिसँग दलका नेता बिच छलफल जारी

काठमाडौँ, असोज २४  । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा आगामी निर्वाचन लगायतका विषयमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँगको छलफल जारी छ । राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको यस बैठकमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की सहित सबै मन्त्रीगण र विभिन्न राजनीतिक दलका नेताहरू सहभागी हुनुहुन्छ । बैठकमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा, नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शङ्कर पोखरेल, तथा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव बर्षमान पुन:को सहभागिता रहेको छ ।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिनकुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मीना लामा, नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाल पनि उपस्थित हुनुहुन्छ ।यस्तै, जनता समाजवादी पार्टीबाट रेणु यादव, जनमत पार्टीबाट चन्द्रकान्त राउत र डा जयकुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापति, तथा जसपा नेपालबाट विद्युत् बज्राचार्य र प्रकाश अधिकारी पनि सहभागी हुनुहुन्छ ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि नयाँ सरकार गठन र प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा भएको स्थितिमा राष्ट्रपति पौडेल र दलका नेताहरूबीच यो पहिलो संवाद हो ।