फिलिपिन्सका पूर्वराष्ट्रपति डुतेर्तेको चिकित्सकीय रिहाइको प्रस्ताव आइसिसीद्वारा अस्वीकार
काठमाडौँ, असोज २४ । मानवताविरुद्धको अपराधको आरोप खेपिरहेका फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो डुतेर्तेको चिकित्सकीय आधारमा रिहाइको मागलाई अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले शुक्रबार अस्वीकार गरेको छ । डुतेर्तेको प्रतिरक्षा टोलीले स्वास्थ्य समस्यालाई कारण देखाउँदै रिहाइको माग गरेको थियो, तर अदालतले उक्त अनुरोधलाई अस्वीकार गरेपछि उहाँ हिरासतमा नै रहनुहुनेछ ।
आइसिसीका न्यायाधीशहरूले डुतेर्तेलाई कुनै पनि बहानामा हिरासतबाट बाहिर जान दिएमा उहाँ भाग्न सक्ने र साक्षीहरूलाई प्रभावित गर्न सक्ने जोखिम रहेको बताएका छन् । अदालतका अनुसार, ८० वर्षीय वृद्धले भोगेको कुनै पनि चिकित्सा समस्याभन्दा डुतेर्ते भाग्न सक्ने र साक्षीहरूलाई प्रभावित गर्न सक्ने जोखिम बढी गम्भीर छ ।
अक्टोबर १० मा जारी गरिएको कडा निर्णयमा आइसिसीले भनेको छ, “च्याम्बरले डुतेर्तेलाई नजरबन्दमा राख्न आवश्यक रहेको ठहर गरेको छ ।” आइसिसीका अभियोजनकर्ताहरूले डुतेर्तेमाथि मानवताविरुद्धका तीन अपराधको आरोप लगाएका छन् । उहाँमाथि ‘लागूऔषध विरुद्धको युद्ध’ अन्तर्गत कम्तीमा ७६ वटा हत्यामा संलग्न रहेको आरोप छ ।
डुतेर्तेमाथिको पहिलो आरोप उहाँ डाभाओ शहरको मेयर हुँदा सन् २०१३ देखि २०१६ को बीचमा भएका १९ वटा हत्यामा सह-अपराधीको रूपमा संलग्नतासँग सम्बन्धित छ । दोस्रो आरोप सन् २०१६ र २०१७ मा डुतेर्ते राष्ट्रपति हुँदा तथाकथित ‘अत्यधिक कारबाहीका निसानाहरू’ मानिएका १४ वटा हत्यासँग सम्बन्धित छ ।
तेस्रो आरोप भने तल्लो स्तरका कथित लागूऔषध प्रयोगकर्ता वा प्रोत्साहनकर्ताहरू विरुद्ध सन् २०१६ र २०१८ को बीचमा फिलिपिन्समा भएका करिब ४३ वटा हत्याहरू हुन् । डुतेर्तेलाई मार्च ११ मा मनिलामा पक्राउ गरी सोही रात नेदरल्यान्ड्स लगिएको थियो र त्यसयता उहाँ आइसिसीको हिरासतमा हुनुहुन्छ ।
उमेर र स्वास्थ्य समस्याका कारण उहाँले भिडियो लिङ्कमार्फत् आफ्नो प्रारम्भिक सुनुवाइमा सहभागिता जनाउनुभएको थियो । भिडियोमा उहाँ कमजोर स्वास्थ्य अवस्थामा देखिएको थियो । उहाँका वकिल निकोलस काउफम्यानले डुतेर्ते ‘धेरै संज्ञानात्मक कमजोरी’ का कारण सुनुवाइमा उपस्थित हुन नसक्ने बताउनुभएको छ । काउफम्यानले डुतेर्तेविरुद्धको कारबाही अनिश्चितकालका लागि स्थगित गर्न आइसिसीसँग आग्रह गर्नुभएको छ ।
