एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन सुरु: बाँकी सदस्य र पदाधिकारीले धारणा राख्ने
काठमाडौँ, ३१ असोज । नेकपा (एमाले) को १०औँ केन्द्रीय कमिटी बैठकको तेस्रो तथा अन्तिम दिनको सत्र ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा सुरु भएको छ।
प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, असोज २९ र ३० गते बोल्न बाँकी रहेका केन्द्रीय सदस्यहरू र पार्टीका पदाधिकारीहरूले आज अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि आ–आफ्नो धारणा राख्नेछन्। यसअघिका दुई दिनमा करिब २०० केन्द्रीय सदस्यहरूले आफ्ना विचार व्यक्त गरिसकेका छन्।
आजको बैठकमा पोलिटब्युरो सदस्यहरू, स्थायी कमिटी सदस्यहरू र पदाधिकारीहरूले आफ्ना धारणा राख्नेछन्। एमालेमा स्थायी र पदाधिकारीसहित ९९ जना नेताहरू रहेका छन्। प्रचार विभाग प्रमुख गौतमले स्थायी र पदाधिकारीहरूलाई पनि तीन मिनेटको समय उपलब्ध गराइने जानकारी दिए। सबैले धारणा राखिसकेपछि अन्त्यमा अध्यक्ष ओलीले प्रतिवेदनमाथि आएका सुझाव र जिज्ञासाहरूको एकमुष्ट जवाफ दिएर बैठक समापन गर्ने कार्यसूची रहेको छ।
अध्यक्ष ओलीले केन्द्रीय सदस्यहरूले दिएका सुझावहरू, वर्तमान राजनीतिक परिस्थिति, पार्टीको आगामी बाटो र पार्टीका नेता कार्यकर्ताको भूमिका आदिका बारेमा निर्देशन दिने कार्यक्रम छ। यस्तै, आजको बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले समसामयिक प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यतालिका रहेको गौतमले बताए। यस बैठकले पार्टीको आगामी कार्यदिशा र नीति निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।