प्रतिकुल मौसमको प्रभाव

श्री एयरले १ घण्टा ३८ मिनेट आकाशमै फनफनी घुमाएपछि यसो भन्नुहुन्छ गुरुराज घिमिरे

काठमाडौं, १३ कात्तिक । सामान्यतया श्री एयरले विराटनगरबाट काठमाडौं लागि उडान भर्न २५ देखि ३० मिनेट लगाउँछ । तर, आज विराटनगरबाट उडेको श्री एयरको फ्लाइट नम्बर ७३२ को जहाज काठमाडौं अवतरण गर्न नसकेर १ घण्टा ३८ मिनेटमा फेरि विराटनगर एयरपोर्टमै अवतरण भएको छ ।

काठमाडौंको मौसम आज बिहानैदेखि खराव बनेको छ । निरन्तर पानी पर्नुका साथै भिजिबिलिटीसमेत कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा वाह्यक उडान प्रभावित भएका थिए भने श्री एयर पनि प्रभावित भयो । यसरी १ घण्टा ३८ मिनेटपछि फर्किएको जहाजमा नेपाली कांग्रेसका नेता गुरुराज घिमिरे पनि हुनुहुन्थ्यो ।

उहाँले विराटनगर फर्किएपछि सामाजिक सञ्जालमा श्री एअरलाइन्सको फ्लाई नं ७३२ को जहाज खराब मौसमका कारण काठमाडौ अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण गर्न नसकेर १ घण्टा ३८ मिनेटको उडान पछि पुनः बिराटनगर फर्किएको भन्दै केही तस्बिरहरु पनि सार्वजनिक गर्नुभयो ।

श्री एयरका बजार प्रबन्धक अनिल मानन्धरले पनि श्री एयर लाइन्सका दुई विमान प्रतिकूल मौसमका कारण आज उडान ‘डाइभर्ट’ गर्नुपरेको जानकारी दिनुभयो । विराटनगरको उक्त विमानसँगै सुर्खेतबाट उडान भरेको अर्को जहाज पनि प्रतिकुल मौसमका कारण भैरहवा अवतरण गर्नुपरेको थियो ।

उहाँले कम भिजिबिलिटीका कारण जहाज निर्वाध उडान–अवतरण गर्न नसकेको भन्दै प्रतिकूल मौसमकै कारण अन्तर्राष्ट्रिय उडानका जहाजहरु पनि ‘डाइभर्ट’ भएको जानकारी दिनुभयो ।

मैत्रिन्युजले खराब मौसमका कारण १ घण्टा ३८ मिनेट आकाशमै फन्को मार्दा र सकुशल फर्किदाको अनुभवबारे मैत्रिन्युजले घिमिरेसँग टेलिफोनमा कुराकानी गरेको छ । विराटनगर नै फर्किएपछि स्थलमार्ग हुँदै काठमाडौं फर्किने तयारीमा रहनु भएका घिमिरेसँग गरेको कुराकानीः

खराब मौसमका कारण जहाज हल्लिरहेको छ । सिटको पेटी नखोल्नुहोला, आफू बसेको सिटबाट नउठ्नुहोला, हामी काठमाडौंमा अवतरण हुन लाग्यौँ भन्यो । त्यतिबेला काठमाडौँलाई डम्म कुहिरोले छोपेको थियो भने चेपचापबाट अलिअलि घरहरु देखिदैँ थिए । त्यतिबेलासम्म चक्का खुलेको थियो भने हामी पनि अब जहाज अवतरण हुन्छ भन्ने पूर्ण आशामा थियौँ । तर, जहाज तल बस्न सकेन ।

अवतरण हुन लागेको जहाज फेरि उठाएर आकाशतिर लगेपछि भने मनमा चिसो पस्यो । आकाशमै धेरै फन्का लगायो । करीब २० मिनेट त्यसरी घुमाएपछि फेरि एयर ट्राफिकका कारण अर्कोतर्फबाट अवतरणको प्रयास पाइलटले गर्दा पनि सफल भएन । फेरि केही फन्का आकाशमै घुमाएरपछि ‘हामी विराटनगर फर्किदैँ छौँ’ भनेर १ घण्टा ३८ मिनेटमा फेरि विराटनगरमै अवतरण गरायो ।

१ घण्टा ३८ मिनेटसम्म आकाशमै फन्को मर्दा जहाजमा सवार सबैको मुहारमा चमक हराएको देखिन्थ्यो भने म आफैँ पनि अब अवतरण हुने को कि नहुने हो भन्ने कुरा मनमा खेलाएर चिन्तित बनेको थिएँ । सबैको मुहारमा पनि आतेस देखिन्थ्यो ।

१ घण्टा ३८ मिनेटसम्म घुमाएर पनि सकुशसल अवतर गराएकोमा मनमनै पाइलटलाई धन्यवाद दिएँ भने एयर होस्टेसहरुलाई पनि यस्तो खराव मौसममा पनि त्यत्रो घुमाएर पनि सकुशल हामीलाई वतरण गराउन सफल भएको भन्दै टीमलाई नै धन्यवाद भनेर ओर्लिए । उहाँहरुको जीवनमा यो घटना अनेकौँमा एक हो । तर, मेरो जीवनमा गन्तव्यमा नपुगी र यसरी लामो समय आकाशमै घुमेर फर्किएको यो पहिलो घटना हो । जहाज विराटनगरमा अवतरण गरेर पनि फर्किसक्यो होला मचाँहि अवतरणपछि घरमा आएर स्थलगत यात्राबाट काठमाडौँ फर्किदैँछु ।