प्रतिकुल मौसम सिर्जित विपत्ति

मकालु आधार शिविरमा इटालियन नागरिक अलपत्र : उद्धारमा कठिनाई

काठमाडौँ, कार्तिक १३ । सङ्खुवासभाको मकालु गाउँपालिका-२ स्थित मकालु हिमाल आधार शिविरभन्दा केही माथि पुगेका इटालियन नागरिक जेसस मार्टिनेज नोभास खराब मौसम र हिमपातका कारण अलपत्र परेका छन् । करिब ५ हजार ७ सय मिटरको उचाइमा रहेका नोभासको मंगलबारदेखि उद्धार हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार, उद्धारका लागि हेलिकप्टर माग गरिएको भए पनि प्रतिकूल मौसमका कारण कठिनाई भइरहेको छ  । सङ्खुवासभाको उच्च हिमाली भेगमा मंगलबारदेखि निरन्तर वर्षा र हिमपात भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालयले लगातारको वर्षा र उच्च हिमाली भेगमा भइरहेको हिमपातका कारण ४ हजार मिटरभन्दा माथिको क्षेत्रमा पदयात्रा नगर्न सूचना जारी गरेको छ ।