भारतबाट १६ बालबालिकाको उद्धार : परिवारको जिम्मा लगाइयो
काठमाडौँ, कार्तिक १३ । भारतका विभिन्न स्थानबाट १६ जना नेपाली बालबालिकाको उद्धार गरी आज जनकपुरधाममा उनीहरूका परिवारलाई जिम्मा लगाइएको छ । मधेस प्रदेशका विभिन्न जिल्लाबाट भारतको मुम्बई, दिल्ली र बिहारका विभिन्न ठाउँमा पुर्याइएका ती बालबालिकालाई भारतीय प्रहरीको सहयोगमा ‘कीन इन्डिया’ नामक संस्थाले उद्धार गरेको हो । मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जित यादवको रोहवरमा उनीहरूलाई अभिभावकको जिम्मा लगाइएको थियो ।
उद्धार गरिएका बालबालिका महोत्तरी, धनुषा, सिरहा, रौतहट र सप्तरी जिल्लाका हुन् । राष्ट्रिय बालअधिकार परिषद् मधेस प्रदेश समन्वय अधिकृत सञ्जीव महतोका अनुसार, उनीहरूको उमेर ९ देखि २२ वर्षसम्म रहेको छ ।
यसैगरी, ‘कीन इन्डिया’ ले भारतीय प्रहरीको सहयोगमा उद्धार गरिएका थप दुई बालिकालाई पनि बालकल्याण समिति तथा बालबालिका खोज उद्धार केन्द्र जनकपुरधाममार्फत अभिभावकको जिम्मा लगाएको छ ।