पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरीमा ६ हजार रुख काटिने

महोत्तरी, २४ मङ्सिर । पूर्व–पश्चिम राजमार्ग विस्तार परियोजनाअन्तर्गत महोत्तरी जिल्लामा ६ हजार २७ वटा रुख कटान गरिने भएको छ।

पूर्व–पश्चिम राजमार्ग विस्तारको कमला–ढल्केवर–पथलैया सडक पूर्वीखण्ड आयोजनाका प्रमुख राजेशकुमार दासका अनुसार, विभिन्न समस्या र चुनौतीका बाबजुद लामो समयपछि डिभिजन वन कार्यालय, वन तथा भूसंरक्षण विभाग र वन तथा वातावरण मन्त्रालय हुँदै सबै प्रक्रिया पूरा भएपछि रुख काट्ने आदेश प्राप्त भएको हो।

प्रमुख दासले यस आयोजनाअन्तर्गत पूर्वी खण्डले निर्माण कार्य गर्ने महोत्तरी, धनुषा र सर्लाही जिल्लामा कुल ११ हजार ५७७ वटा रुख कटान गर्ने आदेश प्राप्त भएको जानकारी दिनुभयो। यसमध्ये सर्लाहीमा तीन हजार ६७४ र धनुषामा एक हजार ८७६ वटा रुख काट्ने आदेश भएको प्रमुख दासले बताउनुभयो। उहाँका अनुसार, सडक विस्तारका क्रममा सहरी तथा बजार क्षेत्रमा ६ लेन सहित ३१ मिटर चौडाइ र अन्य क्षेत्रमा चार लेन सहित १८ मिटर चौडाइ कायम गरिनेछ।
सडक विस्तारका लागि सबैभन्दा बढी सालका रुखहरू कटान गरिनेछन्।

सडक विस्तारमा बिजुलीका खम्बा सार्ने र खानेपानीको पाइप बिछ्याउने कामसमेत चुनौतीका रूपमा रहेको आयोजना प्रमुख दासले बताउनुभयो। धनुषा र सर्लाहीमा रुख कटानको काम सुरु भइसकेको र महोत्तरीमा पनि चाँडै यो कार्य आरम्भ हुने उहाँले जानकारी दिनुभयो।