विराटनगरका क्यासिनोमा प्रहरीको ‘मिडनाइट’ छापा: व्यवस्थापकसहित २० नेपाली पक्राउ
विराटनगर, ७ पुस । विराटनगरका दुई ठूला होटलमा सञ्चालित क्यासिनोमा प्रहरीले आइतबार मध्यराति छापा मारेको छ ।
कानुनविपरीत नेपाली नागरिकलाई प्रवेश गराएको र जुवा खेलाएको आरोपमा प्रहरीले दुई क्यासिनोका व्यवस्थापकसहित २० जना नेपालीलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बिग होटलभित्र सञ्चालित ‘च्याम्पियन जोन क्यासिनो’ र रत्ना होटलभित्र रहेको ‘गोल्डेन क्यासिनो’ मा एकैसाथ छापा मारिएको थियो ।
प्रहरीले रत्ना होटलको क्यासिनोबाट १४ जना र बिग होटलको क्यासिनोबाट ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोल्डेन क्यासिनोका महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेत र च्याम्पियन जोन क्यासिनोका व्यवस्थापक रामकृष्ण गौतम समेत रहेका छन् । मोरङकी प्रहरी प्रमुख (एसपी) कबिता कट्वालले पक्राउ परेकाहरू विरुद्ध जुवा ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको जानकारी दिनुभयो ।
नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा कानुनी रोक भए तापनि विराटनगरका यी क्यासिनोहरूमा नेपालीको सहज आउजाउ हुने गरेको थियो । क्यासिनोभित्रै हुने लेनदेन र हारजितका कारण यहाँ पटक–पटक ग्याङ फाइट र हिंसात्मक घटनाहरू हुँदै आएका थिए ।
गत चैत ३ गते: रत्ना होटलको क्यासिनो परिसरमा अभिषेक गिरी र किरण लामाको समूहबीच कुटाकुट हुँदा तीन जना घाइते भएका थिए ।
२०८० पुस २८ गते: बिग होटलको क्यासिनोमा जुवाकै विषयलाई लिएर दुई समूहबीच खुकुरी हानाहान भएको थियो, जसमा रोनाल कँडेल गम्भीर घाइते भएका थिए । यी शृङ्खलाबद्ध विवाद र कानुनको उल्लंघनपछि प्रहरीले पछिल्लो समय क्यासिनोहरूमा निगरानी बढाएको हो ।