चाँदी आयातको विदेशी मुद्रा सटहीमा राष्ट्र बैंकको नयाँ व्यवस्था : मासिक कोटा तोकियो
काठमाडौँ, १३ पुस । नेपाल राष्ट्र बैंकले चाँदी आयातका लागि उपलब्ध गराइँदै आएको विदेशी मुद्रा सटही सुविधामा नयाँ व्यवस्था लागू गरेको छ । केन्द्रीय बैंकले आइतबार ‘एकीकृत परिपत्र–२०८१’ मा संशोधन गर्दै चाँदी आयातका लागि मासिक कोटा निर्धारण गरेको हो ।
नयाँ व्यवस्था अनुसार अब औद्योगिक कच्चा पदार्थका रूपमा चाँदी आयात गर्ने उद्योगहरूले एक महिनामा अधिकतम २० लाख अमेरिकी डलरसम्मको सटही सुविधा पाउनेछन् । त्यस्तै, अन्य व्यवसायी वा फर्मका लागि मासिक चार लाख अमेरिकी डलरको सीमा तोकिएको छ ।
यसअघि चाँदी आयातका लागि ‘पटक’ को आधारमा सटही सुविधा उपलब्ध थियो । पुरानो व्यवस्था अनुसार उद्योगले एकपटकमा पाँच लाख डलर र अन्य व्यवसायीले एक लाख अमेरिकी डलरसम्मको चाँदी आयात गर्न विदेशी मुद्रा सटही सुविधा पाउँदै आएका थिए । राष्ट्र बैंकले अब भने प्रतिपटकको सट्टा मासिक रूपमा कूल सटहीको सीमा तोकिदिएको हो ।
विदेशी मुद्रा सञ्चितिको सन्तुलन र आयातलाई व्यवस्थित बनाउने उद्देश्यले राष्ट्र बैंकले यो नीतिगत फेरबदल गरेको बुझिएको छ ।