निर्वाचन सुरक्षामा कडाइ: बैतडीमा २८७ थान इजाजतप्राप्त बन्दुक संकलन

बैतडी, २३ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न बैतडी प्रशासनले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । सोही क्रममा जिल्लाभरबाट २८७ थान इजाजतप्राप्त (लाइसेन्सवाला) भरुवा बन्दुक प्रहरीले संकलन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिको निर्णयअनुसार निर्वाचन अवधिभर हतियारबाट हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि यी हतियार बुझाउन आग्रह गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूका अनुसार संकलित हतियारहरू जिल्लाका विभिन्न प्रहरी चौकी, इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा सुरक्षित राखिएका छन् । “निर्वाचन सम्पन्न भएपछि आगामी चैत २० गतेपश्चात मात्र यी हतियार सम्बन्धित धनीलाई फिर्ता गरिनेछ,” उहाँले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले निर्वाचनको संवेदनशील समयमा हतियारको दुरुपयोग हुन नदिन यस्तो कदम चालिएको स्पष्ट पार्नुभयो । “स्वच्छ र निष्पक्ष निर्वाचनका लागि लाइसेन्सप्राप्त हतियार पनि सुरक्षा चुनौती बन्न सक्ने भएकाले नियन्त्रणमा लिइएको हो,” प्रजिअ थापाले भन्नुभयो, “यो प्रत्येक निर्वाचनमा गरिने एक नियमित सुरक्षात्मक अभ्यास हो ।”

प्रशासनले तोकिएको समयभित्र हतियार नबुझाउनेहरूका हकमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी समेत दिएको छ ।