एमाले देश बिगार्ने होइन, बनाउने शक्ति हो : ईश्वर पोखरेल

काठमाडौं, ६ फागुन । नेकपा (एमाले) का उम्मेदवार ईश्वर पोखरेलले काठमाडौं क्षेत्र नम्बर ५ मा आफ्नो चुनावी अभियानलाई तीव्रता दिएका छन्। आसन्न निर्वाचन नजिकिँदै गर्दा उनले घरदैलो अभियानमार्फत मतदातासँगको भेटघाट बाक्लो बनाएका हुन्।

अभियानका क्रममा टोखामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पोखरेलले एमाले केवल राजनीतिक दल मात्र नभई देश बनाउने शक्ति भएको दाबी गरे। उनले भने, ‘एमालेले देश बनाउने काम गर्छ, बिगार्ने काम गर्दैन।’

मुलुकलाई सही दिशामा डोर्याउन र विकासको गति अघि बढाउन एमालेको नेतृत्व अपरिहार्य रहेको उनको भनाइ थियो। उनले अहिलेको फरक राजनीतिक परिस्थितिमा देशलाई ‘सही ट्रयाक’ मा ल्याउन एमालेको जित आवश्यक रहेको औंल्याए।

घरदैलोका क्रममा पोखरेलले कार्यकर्ता तथा समर्थकहरूलाई जनताको घर–आँगनमा पुगेर पार्टीका एजेन्डा स्पष्ट रूपमा राख्न निर्देशन दिए। उनले भने, ‘जनताका गुनासा, आलोचना र समस्याहरू धैर्यतापूर्वक सुन्नुपर्छ र तिनको समाधानतर्फ लाग्नुपर्छ।’

आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै उनले काठमाडौं क्षेत्र नम्बर ५ को विकासका लागि तयार पारिएका योजनाहरू मतदातासमक्ष प्रस्तुत गरिरहेका छन्। यस क्षेत्रलाई ‘नमूना क्षेत्र’ बनाउने प्रतिबद्धता व्यक्त गर्दै पोखरेलले टोलटोलमा पुगेर मत मागिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *