अमेरिकामा पारिवारिक वीभत्स हत्याकाण्ड: उदयपुरका थापाद्वारा श्रीमती र छोरीको हत्या, प्रहरीको गोलीबाट उनको पनि मृत्यु
काठमाडौँ, १२ फागुन अमेरिकाको भर्जिनिया राज्यस्थित फेयरफ्याक्स काउन्टीमा एक नेपाली आप्रवासीले आफ्नै श्रीमती र छोरीको बीभत्स हत्या गरेका छन्। घटनापछि ज्वाइँमाथि ज्यानलेवा आक्रमण गरिरहेको अवस्थामा प्रहरीको गोली लागी आक्रमणकारीको समेत मृत्यु भएको छ।
फेयरफ्याक्स काउन्टीस्थित पर्सिमोन ड्राइभको एक अपार्टमेन्टमा सोमबार बिहान उक्त घटना भएको हो। घटनामा नेपालको उदयपुरस्थित बेलका नगरपालिकाका ५० वर्षीय छत्रबहादुर थापाले १० इन्च लामो धारिलो हतियार (चक्कु) प्रहार गरी ५१ वर्षीया पत्नी बिन्दा थापा र ३१ वर्षीया छोरी ममता थापाको हत्या गरेका हुन्।
आक्रमणबाट उनका ३५ वर्षीय ज्वाइँ सन्तोष कुमार बस्नेत गम्भीर घाइते भएका छन्। घटनाको समयमा सन्तोषले नै प्रहरीलाई आपतकालीन खबर गरेका थिए।
सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले छत्रबहादुरलाई ज्वाइँ सन्तोषमाथि आक्रमण गरिरहेकै अवस्थामा फेला पारेको थियो। प्रहरीले तत्काल उनलाई हतियार बिसाउन (फाल्न) आदेश दिएको थियो। तर, प्रहरीको आदेशको बेवास्ता गर्दै आक्रमण जारी राखेपछि सुरक्षाकर्मीले बाध्य भएर गोली चलाएको जनाइएको छ। प्रहरीको गोली लागेर छत्रबहादुरको पनि मृत्यु भएको छ।
गम्भीर घाइते भएका ज्वाइँ सन्तोषको हाल स्थानीय अस्पतालमा उपचार भइरहेको छ। यस हृदयविदारक घटनामा परिवारका एक वर्षीय शिशु (नाति) भने सकुशल रहेको अधिकारीहरूले जनाएका छन्।
यसअघि उक्त परिवारको कुनै पनि आपराधिक पृष्ठभूमि नरहेको पाइएको छ। घरभित्रै भएको यो अकल्पनीय र क्रूर हत्याकाण्ड देखेर अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरू नै स्तब्ध बनेका छन्। हत्याको यकिन कारण खुल्न नसकेको र घटनाबारे प्रहरीले गम्भीर रूपमा थप अनुसन्धान गरिरहेको जनाइएको छ।