‘टिकट किन्नुपर्ने पार्टी’ भन्दै रास्वपा कास्कीका नेता राजु राईले दिए राजीनामा, भने- “राजनीति इमानदारको खेल रहेन”

पोखरा, १४ फागुन । ‘टिकट किन्नुपर्ने र नेता चिन्नुपर्ने’ आरोप लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीका नेता राजु राईले पार्टी परित्यागको घोषणा गरेका छन् ।

राजनीति इमानदार मानिसले गर्ने क्षेत्र नभएको निष्कर्षसहित उनले आज (सोमबार) सामाजिक सञ्जालमार्फत पार्टी छाडेको जानकारी गराएका हुन् । आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै राईले अबदेखि राजनीतिमा एक सेकेन्ड समय र एक कौडी पैसा पनि खर्च नगर्ने उद्घोष गरेका छन् ।

उनले लेखेका छन्, “राजनीति भनेको सोझो र इमानदारले गर्ने काम होइन रहेछ । आजबाट राजनीति र पार्टीको लागि १ कौडी पैसा र १ सेकेन्ड समय पनि खेर फाल्ने छैन । अब स्वतन्त्र नागरिक भएर समाजसेवामा लाग्नेछु ।”

यसको दुई दिनअघि मात्रै पनि उनले ‘टिकट किन्नुपर्ने पार्टीलाई भोट दिनु भनेको आफ्नै टाउकोमा ऋण लगाउनु सरह भएको’ भन्दै नेतृत्वको चर्को आलोचना गरेका थिए ।

राई पार्टी नेतृत्वसँग रुष्ट हुनुको मुख्य कारण आसन्न निर्वाचनको टिकट वितरण हो । अघिल्लो निर्वाचनमा सम्मानजनक मत ल्याएका उनी यसपटक पनि कास्की–१ बाट उम्मेदवारका आकांक्षी थिए । तर, रास्वपाले उनको साटो गत स्थानीय तह निर्वाचनमा ‘अटेरी अभियान’ चलाउँदै लौरो चिह्नबाट पोखराको मेयरमा उठेका खडकराज पौडेललाई उम्मेदवार बनाएपछि राई असन्तुष्ट बनेका हुन् । पौडेललाई उम्मेदवार बनाएदेखि नै उनले सार्वजनिक रूपमै असन्तुष्टि पोख्दै आएका थिए ।

गत २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा राईले कास्की क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिँदै १० हजार ९४१ मत ल्याएर तेस्रो स्थान हासिल गरेका थिए । उक्त क्षेत्रमा नेकपा एमालेका मनबहादुर गुरुङ २५ हजार ७०८ मतसहित निर्वाचित हुँदा नेपाली कांग्रेसका किशोरदत्त बरालले २३ हजार १८९ मत प्राप्त गरेका थिए ।

पछिल्लो समय चुनावको मुखमा टिकट वितरणमा आर्थिक चलखेल र नातावाद हाबी भएको आरोप लगाउँदै रास्वपाभित्र असन्तुष्टि चुलिएको छ । यही कारण देखाउँदै हालसम्म दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताले रास्वपा छाडिसकेका छन् ।