आगामी तीन दिनसम्म मौसम धुम्मिरहने, केही प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं, २४ फागुन । देशका विभिन्न भागमा आगामी मङ्गलबारसम्म मौसम पूर्ण रूपमा नखुल्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसम धुम्मिने प्रणाली सक्रिय रहेकाले आगामी तीन दिनसम्म देशका पहाडी तथा हिमाली भूभागमा बदली भई केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
मौसमविद् रोजन लामिछानेका अनुसार हाल नेपालको वायुमण्डलमा उच्चचापीय प्रणाली तथा देशको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा न्यूनचापीय प्रणालीको आंशिक प्रभाव परेको छ ।
“यही प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने र केही स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना छ,” मौसमविद् लामिछानेले भने । उनले आज (बिहीबार) वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षा हुन सक्ने जानकारी दिए ।
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार, आज राति कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने देशका बाँकी भूभागमा मौसम आंशिक बदली (सामान्यतया सफा) हुनेछ ।
यसैगरी, रातिको समयमा कोशी र गण्डकी प्रदेशका केही पहाडी तथा हिमाली भूभाग र वाग्मती प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा वा हिमपात हुने महाशाखाले पूर्वानुमान गरेको छ । मौसममा आएको यो बदलीसँगै तापक्रममा सामान्य गिरावट आउन सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।