कम्बोडियाका ‘स्क्याम सेन्टर’बाट २१ नेपालीको उद्धार, भिजिट भिसामा नजान दूतावासको आग्रह
काठमाडौं, २९ फागुन । आकर्षक रोजगारीको प्रलोभनमा परी कम्बोडिया पुगेर अनलाइन ठगी (स्क्यामिङ) र क्यासिनोमा फसेका २१ जना नेपालीको उद्धार गरिएको छ। उनीहरूलाई थाइल्यान्डको बैंककस्थित नेपाली दूतावास, कम्बोडिया सरकार र गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको संयुक्त पहलमा मङ्गलबार स्वदेश फर्काइएको हो।
मानव तस्करको जालोमा परेर कम्बोडिया पुगेका उनीहरूलाई त्यहाँ अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरहरूमा गैरकानुनी काममा लगाइएको थियो। दूतावासका अनुसार, भिसा अवधि सकिएर अवैधानिक रूपमा बसिरहेका र अलपत्र परेका उनीहरूको उद्धार गरिएको हो। अझै पनि त्यहाँ कठिन परिस्थितिमा रहेका अन्य नेपालीहरूको खोजी र उद्धारका लागि पहल भइरहेको छ।
दलालमार्फत कम्बोडिया पुगेका नेपालीहरूको राहदानी (पासपोर्ट) रोजगारदाता कम्पनीले जफत गर्ने वा एक स्क्याम सेन्टरबाट अर्कोमा बेचिँदा (ट्रान्सफर हुँदा) हराउने गरेको व्यापक गुनासो दूतावासमा पुग्ने गरेको छ।
यस्तो अवस्थामा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन बैंककस्थित नेपाली दूतावासले निःशुल्क ‘एकतर्फी यात्रा अनुमतिपत्र’ (ट्राभल डकुमेन्ट) जारी गर्दै आएको छ। दूतावासले अवैध रूपमा र अप्ठ्यारो अवस्थामा बसिरहेका नेपालीलाई स्वदेश फर्कन तत्काल बैंकक दूतावास वा एनआरएनए कम्बोडियाका प्रतिनिधिलाई सम्पर्क गर्न आग्रह गरेको छ।
पछिल्लो समय भिजिट (भ्रमण) भिसामा कम्बोडिया जाने नेपालीको संख्या अस्वाभाविक रूपमा बढिरहेको तथ्यांकले देखाएको छ।
कम्बोडियाको पर्यटन तथ्यांकअनुसार सन् २०२१ मा जम्मा १०१ जना नेपाली त्यहाँ पुगेकामा सन् २०२२ मा १ हजार ९७७ र सन् २०२३ मा २ हजार ९४० जना पुगेका थिए। त्यस्तै, सन् २०२४ मा ६ हजार ४०४ र सन् २०२५ को हालसम्मको तथ्यांकअनुसार ९ हजार ६७६ जना नेपाली कम्बोडिया पुगेका छन्। यसले अवैध रोजगारी र मानव तस्करीको जोखिम कति बढेको छ भन्ने स्पष्ट पार्छ।
दूतावासले छिटो र धेरै पैसा कमाउने लोभमा भिजिट भिसाको बहाना बनाएर कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्डजस्ता देशमा नजान कडा चेतावनी दिएको छ। वैदेशिक रोजगारीमा जानैपरे नेपाल सरकारले तोकेको कानुनी प्रक्रिया पूरा गरी श्रम स्वीकृति लिएर मात्र जान दूतावासले सम्पूर्ण नागरिकलाई अनुरोध गरेको छ।