अनलाइन ठगी र अवैध क्यासिनोमा फसेका २० नेपालीको कम्बोडियाबाट उद्धार
काठमाडौं, ५ चैत । आकर्षक रोजगारीको प्रलोभनमा परी कम्बोडिया पुगेर अलपत्र परेका २० जना नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासको विशेष पहलमा उनीहरूको उद्धार गरिएको हो ।
दूतावासका अनुसार, उनीहरूलाई भिजिट भिसामा लगेर अनलाइन ठगी (स्क्यामिङ) केन्द्र, अवैध क्यासिनो र अन्य गैरकानुनी काममा जबर्जस्ती लगाइएको थियो । भिसा अवधि सकिएर गैरकानुनी रूपमा बसिरहेका उनीहरूलाई कम्बोडिया सरकार र गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको समन्वयमा उद्धार गरिएको हो ।
एनआरएनएको सहजीकरणमा बुधबार कम्बोडियाबाट काठमाडौंका लागि पठाइएका उनीहरू शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । दूतावासले अझै केही नेपाली कम्बोडियामा अलपत्र रहेको सूचना प्राप्त भएको र उनीहरूको उद्धारका लागि पनि निरन्तर पहल भइरहेको जनाएको छ ।
कम्बोडियामा अप्ठ्यारोमा परेका नेपालीलाई तत्काल सहयोगका लागि बैंककस्थित दूतावास वा एनआरएनए कम्बोडियाका प्रतिनिधिहरूसँग सम्पर्क गर्न आग्रह गरिएको छ । सहयोगका लागि एनआरएनए प्रतिनिधिहरू शिवराज पराजुली (+८५५ १२ २१५ ५७८), लालसिंह खड्का (+८५५ ९३ २०३ ६६६) र रामजीकुमार क्षेत्री (+८५५ ९६ ३४६ ५७८८) लाई सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।
भिजिट भिसामा जानेको संख्या अस्वाभाविक वृद्धि
पछिल्लो समय भिजिट भिसामा कम्बोडिया जाने नेपालीको संख्या अस्वाभाविक रूपमा बढिरहेको तथ्याङ्कले देखाएको छ । कम्बोडियाको पर्यटन तथ्याङ्क अनुसार सन् २०२१ मा जम्मा १०१ जना नेपाली त्यहाँ पुगेकोमा, सन् २०२२ मा १,९७७, सन् २०२३ मा २,९४०, सन् २०२४ मा ६,४०४ र सन् २०२५ मा ९,६७६ जना नेपाली कम्बोडिया पुगेका छन् ।
बढ्दो मानव बेचबिखन र ठगीलाई मध्यनजर गर्दै दूतावासले दलालको प्रलोभनमा नपर्न सर्वसाधारणलाई अपील गरेको छ । नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरी श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान र भिजिट भिसाको बहानामा कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्ड जस्ता देशहरूमा नजान दूतावासले कडा सचेत गराएको छ ।